सूत्र खोजीमा बितेको वर्ष
–सामिप्य तिमल्सिना,काठमाडौं
‘लुट’ यता सुरु भएको संक्रमण २०७० सालपनि जारी रह्यो । ‘लुट’को सफलतासँगै नेपाली फिल्म निर्माणको संरचनामा व्यापक परिवर्तनको अपेक्षा गरिएको थियो तर ‘लुट’को सफलतालाई धेरैले एकांगी रुपमा ग्रहण गर्दा २०७० साल यौन कथा माथि भद्धा फिल्म बनाउने वर्षको रुपमा स्थापित भयो ।
‘चपली हाइट’ बाट प्रेरित यौन कन्टेन्ट र ‘लुट’ बाट प्रेरित छाडा संवाद बोकेका २० भन्दा ज्यादा फिल्मको निर्माणले नेपाली फिल्म उद्योग किन प्रतिष्ठित बन्न सकेको छैन ? भन्ने कुराको सहज उत्तर दियो । समग्रमा चाहिँ यो साल सफलताको सूत्र खोज्नमा व्यतीत भयो । न त परम्परागत धारका फिल्म चले न त नयाँ धारका ।
यो साल ९७ वटा फिल्म प्रदर्शनमा आए । ति मध्ये बधशाला, कर्कश, शिरिषको फूल,साँघुरो,अन्तराल, उमा, मोक्ष, झोला, फिटकिरी परम्परागत विषय भन्दा भिन्न विषयमा बनेका फिल्म थिए । तर झोला बाहेक कुनै पनि फिल्मले गतिलो व्यापार गर्न सकेनन् । उता परम्परागत सूत्रमै बनेका केही फिल्मले भने राम्रो व्यापार गरेर नेपाली फिल्मको बाटो थप अन्योलग्रस्त बनाए । काली, छ एकान छ, झोले,नाईं नभन्नु ल २ आदिको सफलताले सूत्र फिल्मका पनि दर्शक छन् है भन्ने कुरालाई स्थापित गरेपछि २०७० साल अन्योलको वर्ष बन्यो ।
बौद्धिक दर्शकबाट धाप पाएका केही नेपाली फिल्म चलेनन् । व्यापारको सुनिश्चितताकासाथ सूत्रात्मक फिल्म बनाएका निर्माताका गोजीपनि खाली नै रहे । त्यसैले अब नेपालमा कस्ता फिल्म बनाउने र नेपाली फिल्मलाई कुन बाटोबाट अगाडि बढाउने सबैको चिन्ता र चासोको प्रश्न बनेको छ ।
सामान्यतया सबै फिल्म व्यवसाय गर्नकै लागि भनेर बनाईन्छन् तर व्यवसाय कसरी गर्ने सबैका आ आफ्नै मान्यताहरु ह्ुन्छन् । नेपाली फिल्म त्यही बाटो पहिल्याउन नसकेर कुहिरोको काग बनेको छ ।
फिल्मले व्यापार गर्ने पहिलो आधार हो गतिलो फिल्म । फिल्म गतिलो मानिने आधार हो विषय वस्तुको नविनता, प्रस्तुतिमा विविधता र फिल्म भित्र रहने नाटकीय तत्वहरु बीचको सामन्जस्यता ।
यस हिसाबले हेर्दा साँघुरो, अन्तराल र मोक्षमा यस्ता सबै विशेषता थिए जसले नेपालको सापेक्षतामा गतिला फिल्म बनेको उदाहरण प्रस्तुत गर्थे तर तीनै फिल्मको नराम्रो असफलताले फिल्म निर्माणमाथिको विश्वासमा संकट थप्यो । स्टार प्रधान फिल्म बनाउने वा चरित्र प्रधान फिल्म बनाउने वर्षभरि नै चिन्तनको विषय बन्यो ।
दर्शकको चेतनाको स्तर र नेपाली फिल्मको निर्माण शैलीका बीचमा भएको गहिराईका कारण सुरु देखिनै नेपाली दर्शक नेपाली फिल्म भन्दा अन्य देशका सिनेमा प्रति आकृष्ट रहँदै आएका छन् । प्रविधीको सहजताका कारण फिल्ममा रुची राख्ने दर्शक विश्व सिनेमाका उतार चढावसँग परिचित भईसकेका छन् । तर नेपालका अधिकांश निर्माताहरुको पाठशाला भारतीय र कोरियन सिनेमा भन्दा इतर जान सकेको छैन ।
पूराना पुस्ताका निर्देशकले बलिउडको फिल्मलाई आफ्नो पाठशाला बनाएका छन् भने नयाँ पुस्ताकाले कोरियनलाई । तर अक्कल बिनाको नक्कलको उदाहरण बनेका यस्ता फिल्मले नेपाली दर्शकलाई रिझाउन नसकेको जग जाहेर छ । अपवादमा यो साल माथि उल्लेखित तीनै फिल्मले आफ्नै कथा भन्ने जमर्को गरेका थिए र समिक्षकबाट राम्रो तारिफ पनि पाएका थिए तर यि फिल्मले दर्शकको साथ पाएनन् ।
नेपाली फिल्मको बजारको ८० प्रतिशत काठमाडौंले ओगट्ने वितरकको दाबी छ । ८० मध्ये ५० प्रतिशत मल्टिप्लेक्स र ३० प्रतिशत काठमाडौं वरपरका सिंगल थिएटरको योगदान रहन्छ । तर नेपालमा ९० प्रतिशत यस्ता फिल्म बनिरहेछन् जो सिंगल थिएटरलाई लक्षित हुन्छन् । सम्भवतः नेपाली फिल्मले यो साल बेहोर्ने घाटा यही तथ्यांकमा लुकेको छ ।
यो साल सर्वाधिक कमाई गर्ने छ एकान छ र झोलाको कमाईलाई सिंगल थिएटर र मल्टिप्लेक्समा बाँडेर हेर्ने हो भने सम्भवतः नेपाली फिल्मको कमाईको एउटा तस्विर पनि निस्कन्छ र सँगसँगै सफलताको सूत्र खोजिरहेका निर्माता निर्देशकलाई कस्तो फिल्म बनाउने ? भन्ने यक्ष प्रश्नको उत्तर पनि आउँछ ।
२०७० साल नेपाली फिल्मले छाडा र भद्धा फिल्ममा आफ्नो भविष्य देखेको थियो । तर वर्षको मध्यतिर आईपुग्दा नपुग्दै यस्ता फिल्म बनाउने र खेल्ने सामाजिक बहिष्कारमा परे । सम्भवतः ७१ सालमा यस्ता फिल्म बनाउने सायदै कसैले धृष्टता गर्ला । यसो हुन सके यसलाई २०७०को उपलब्धि नै मान्दा हुन्छ । यदि ‘चपली हाइट’ चलेझैं यस्ता फिल्म चलेका भए धेरैलाई म नेपाली फिल्ममा काम गर्छु भन्न सायदै बोली फुट्थ्यो ।
फेरि पनि २०७०मा बनिसकेर २०७१ सालमा प्रदर्शनमा आउने फिल्मको भविष्य तिनकै कर्ममा निहित रहन्छ तर नयाँ फिल्म बनाउने तयारीमा रहेकालाई चैं संकेत के छ भने काठमाडौंमा मल्टिप्लेक्स थपिने क्रममा छन् । यही वर्ष भित्रमै कमसेकम चार पाँच मल्टिप्लेक्स काठमाडौमा थपिंदैछन् । सायद काठमाडौं बाहिरका मुख्य शहरमा पनि यो क्रम सुरु होला ।
त्यसैले अबको फिल्म निर्माण यहाँ आउने दर्शकलाई लक्षित हुन पर्यो । तर यहाँ आउने दर्शकलाई कसरी सन्तुष्ट बनाएर निकाल्ने चुनौति छ । तर असम्भव पनि छैन । किनकी संस्कृतको एउटा श्लोकले भन्छ उद्योगिनीं पुरुषसिंह मुपैति लक्ष्मी अर्थात् उद्योग गर्नेलाई लक्ष्मीले पनि साथ दिन्छिन् ।
For More videos Log on to Mazzako TV