पहिलो फिल्म ‘के म तिम्रो होइन र’ रिलिजको समयमा अभिनेता आर्यन अधिकारी दंग थिए । कारण, उनी फिल्म क्षेत्रका लागि नयाँ भएपनि फिल्मको हाइप उच्च थियो । जसलेगर्दा, फिल्मले कमजोर व्यापार गरेन । फिल्मको व्यापार सामान्य भएपनि आर्यन मिडियामा नोटिस भए, उनको शरीरको चर्चा भयो । यो फिल्म उनकै अंकलले निर्माण गरेका थिए । तर, दोश्रो फिल्म ‘बटरफ्लाई’ रिलिजसम्म आइपुग्दा आर्यनका लागि त्यो खुशी मिलेको छैन । कारण, फिल्मको रिलिजको समयमा न यसले त्यस्तो गतिलो हाइप नै पाएको छ, न त आर्यन मिडियामा पहिलो फिल्म जसरी नोटिस नै भएका छन् ।

मल्टिप्लेक्समा थोरै शो पाएर रिलिज भएको फिल्मको ओपनिङ सामान्य छ । यसपटक, मिडियामा आर्यन त्यती साह्रो देखिएनन् । केहि पत्रकार सम्मेलनमा मात्र आर्यनलाई दर्शकले देख्न पाए । मिहिनेत गरेको फिल्मको हाइप कमजोर बनेपछि आर्यन चिन्तित देखिएका छन् । नेपाली फिल्मका मेकरहरु फिल्म त बनाउँछन्, तर त्यसको राम्रो मार्केटिङ गर्न नजान्दा कलाकारलाई पनि घाटा लाग्ने गरेको छ । यो फिल्म राम्रो चलेन भने आर्यनको करिअर नै जोखिममा पर्नेछ ।

For More videos Log on to Mazzako TV