प्रमोद खरेलले भने ‘कन्ट्रोल हुदैन’, धुर्मुस भन्छन ‘रोक्नुस्’

एकछिन त सबैजना अन्योलमा परे, रोक्नुस भनेपछि खरेल पनि रोकिए । खासमा धुर्मुसले ‘कट’ भनेका रहेछन् । हेरी एकैछिनको सल्लाह पछि धुर्मुुस पुन चिच्याए, ‘लु सुरु गर्नुस्’ ।
हाँस्ककलाकार भएर पनि होला, निर्देशकले बोल्ने ‘एक्सन कट’को भाषा पनि सिताराम कट्टेल धुर्मुसको आफ्नै शैलीको रहेछ । उनले बोलेको सुनेर पोर्चुगलमा बस्दै आएकी मोडेल सालु गौतम पनि घरि घरि कन्फ्युज भई रहेको पनि देखियो । धुर्मुसको यो गज्जको निर्देशन शैलीले उपस्थित सबैलाई घरि घरि हसाईरहन्थ्यो ।
गायक प्रमोद खरेलको ‘हंगामा भो’ एल्बममा समावेश ‘कन्ट्रोल हुदैन’ बोलको गीतको म्युजिक भिडियो धुर्मुसले निर्देशन गरेका छन् । सुटिङ्ग गरिएको एक हप्तामै रिलिज गरिने लक्ष्यको साथमा शनिवारै भिडियोको छायांकन सकिएको छ ।
‘कन्ट्रोल हुदैन’ बोलको गीतको भिडियोमा राम्रो मान्छेलाई देखेपछिको कन्ट्रोल नहुने अवस्थालाई देखाउन खोजिएको छ । के बालक, के युवा, के बृद्व ? सबैलाई राम्रो मान्छेले आकर्षित गर्ने कुरा भिडियोले बोल्दछ । डान्स सहितको कमेडी भिडियोमा हेर्न पाईनेछ ।
भिडियोलाई सुदिप बरालले खिचेका हुन भने सालु गौतम, खेम शर्मा, दिलिप आखेडा, अर्जुन घिमिरे, राज अर्याल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यसअघिको ‘हंगामा भो’ बोलको गीतको भिडियोबाट राम्रो प्रतिक्रिया आएकाले यसपाली कन्ट्रोल हुदैनमा पनि पृथक गर्न खोजिएको गायक प्रमोद बताउछन् । अरु भिडियो हेरिरहेका दर्शकलाई कन्ट्रोल हुदैन बोलको भिडियो नयाँ स्वाद हुने गायकको विश्वास रहेको छ ।
“भिडियोमा केही पृथक गरौ भनेर नै धुर्मुसजीलाई निर्देशन गर्न लगाएको हौं, गीतको भावलाई उहाँले खुब न्याय गर्नुभएको छ” गायक खरेल बताउछन् “कमेडी पनि भएको रमाईलो पाराको गीत भएकाले गर्दा धुर्मुसजी नै निर्देशनका लागि छानिनु भएको हो ।” गीतको रेकर्डिङ्ग गर्दा देखि नै यो गीतको लागि धुर्मुसलाई निर्देशन गर्न लगाउने भनेर सल्लाह भएको गायक खरेलको भनाई छ ।
यता, हाँस्यकलाकार धुर्मुस पनि गीतलाई लिएर निकै उत्साहित देखिएका छन् । दर्शकलाई रमाईलो गराउने आफ्नो अर्को प्रयासको रुपमा उनले भिडियो निर्देशनलाई लिएका छन् । अब चलचित्र पनि निर्देशन गर्ने हो ? भन्ने प्रश्नमा धुर्मुले भने “म योजना बनाएर यसो गरौ, उसो गरौ भन्दिन, सिक्दै र गर्दै जाने हो । हेरौ भोलि परिस्थिति बन्यो भने नसकिने भन्ने छैन ।” तर, तत्काललाई फिल्मको निर्देशनतर्फ गईहाल्ने सम्भावना भने न्युन रहेको उनी बताउछन् ।
‘कन्ट्रोल हुदैन’ गायक प्रमोद खरेलको हंगामा भो एल्बममा समावेश भएको गीत हो । ६ वटा गीत समावेश भएको एल्बम हंगामा भोको शिर्ष गीतको भने गायकले यसअघि नै भिडियो बनाईसकेका छन् । एल्बमका सबै गीतहरुको भिडियो बनाउने लक्ष्य रहेको गायक खरेल बताउछन् ।
For More videos Log on to Mazzako TV