भोजपुरी फिल्मका स्टार परदेशी शाहले कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’को भारतीय राइट्स किनेका छन् । उनले १० लाख आइसीमा यो फिल्मको भारत प्रदर्शनको राइट्स किनेको फिल्मका प्रस्तुतकर्ता हरि पन्तले जानकारी दिए ।

विरगञ्जमा आयोजना भएको कार्यक्रममा परदेशीले हरिलाई १६ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । फिल्मको ट्रेलर र गीत हेरिसकेपछि आफूलाई मन परेको भन्दै उनले राइट्स किनेको जानकारी दिएका छन् । उनले भारतका विभिन्न स्थानमा नेपालीहरुको उच्च बसोबास रहेकाले पनि ती स्थानमा हलहरुको शो किनेर फिल्म शो गर्ने जानकारी दिएका छन् ।

दार्जलिङ, सिक्किम लगायतका नेपालीहरुको उच्च बसोबास भएको स्थानमा त आफूले हलको व्यवस्ता गरिसकेको र चाडै नै सेन्सर गरेर फिल्म शो गर्ने उनले बताएका छन् । मेलाका निर्माता तथा सह–लेखक समेत रहेका हरि पन्त योसँगै मेला केही सुरक्षित भएको बताउँछन् । उनले नेपाली फिल्मको बजार यसरी नै केही मात्रामा सुरक्षित हुने हो भने निर्मातालाई सजिलो हुने बताए ।

सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेष भण्डारी लगायतका कलाकारले अभिनय गरेको यो फिल्म कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV