अभिनेत्री स्वेता खड्का केही बर्षको अन्तरालपछि फिल्म निर्माणमा फर्किएकी छिन् । स्वेताले ‘कोहिनुर’ फिल्ममा अभिनय गरेपछि पर्दामा काम गरेकी थिइनन् । अभिनेता तथा स्वेता पति श्रीकृष्ण श्रेष्ठको निधनपछि उनी केही समय विक्षिप्त बनेकी थिइन् ।

तर, अब भने स्वेता श्रीकृष्णको निधन भएको करिब ३ बर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् । स्वेताले फिल्म ‘कान्छी’ निर्माणको घोषणा गरेकी छिन् । भदौ २ गतेबाट मुस्ताङमा छायांकन हुने फिल्मको घोषणा सोमबार गरिएको छ ।

यो फिल्ममा स्वेता खड्का, दयाहाङ राइ, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सुरुवातमा फिल्ममा अभिनेत्री नम्रता सापकोटाले काम गर्ने चर्च थियो । तर, पछि नम्रताले काम नगर्ने बताएपछि अनु फिल्ममा अनुवन्धित भएकी हुन् ।

माघ २६ गतेबाट फिल्म देशभरका हलमा रिलिज हुने निर्देशक आकाश अधिकारीले बताए । फिल्ममा यम थापाको पटकथा तथा संवाद, बसन्त श्रेष्ठको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहनेछ ।

मुस्ताङमा यो फिल्म ३५ दिन लगाएर खिचिनेछ । निर्देशक अधिकारीका अनुसार, गाउँका सबै यूवा विदेश गएपछि मलामी पनि जाने मानिसको अभाव हुन थालेको छ । सोही कथामा फिल्म बन्नेछ । उनले यसलाइ विशुद्ध नेपालीपन बोकेको फिल्म भनेका छन् ।

For More videos Log on to Mazzako TV