रेखा भन्छिन ‘निर्देशकलाई निकालेकी हुँ’, श्याम भन्छन ‘आफै छाडेको’
यतिबेला चलचित्र ‘हिम्मतवली’को काम बिचैमा छाडेर आएका निर्देशक श्याम भट्टराई र नायिका तथा निमात्री रेखा थापा बीच जुवारी चलिरहेको छ ।
महेन्द्रनगरबाट सुटिङ्ग छाडेर काठमाण्डौ फर्किएपछि ‘आफु टाईफईड भएर फर्किएकोे’ भन्ने प्रतिक्रिया दिएका श्यामले अचानक बुधबार प्रेस विज्ञप्ती जारी गरे । जहाँ उनले निर्माण युनिटसँगको असन्तुष्टीहरु खुलेरै लेखेका छन् । प्रेस विज्ञप्तीमा न्युनतम मानविय आवश्यक्ताहरु पुरा नगरिएकोले
सुटिङ्ग छाडेको उल्लेख गरिएको छ ।
‘हिजो बिरामी भएर फर्किए भन्नु भएको थियो फेरी आज प्रेस विज्ञप्तीमा अर्कै कुरा छ त ?’, भन्ने प्रश्नमा उनले भने “म त्यहाँबाट हिड्दाको हाम्रो समझदारी त्यही थियो तर म फर्किएपछिको न्युज अर्कै आएकोले बास्तविकता बोल्नु परेको हो ।”
आफुले प्रेस विज्ञप्तीमा त्यहाँको बास्तविकता सबै लेखेको उनी सुनाउछन् । त्यहाँको अवस्थाको बरेमा बोल्नै पर्र्नेे स्थिती आएर प्रेस विज्ञप्ती निकालेको उनको दावी छ । सुटिङ्गमा खटिएका लोकल पब्लिक, टेक्निसियन र कलाकारहरुलाई पनि आफु किन निस्किएको भन्नबारे राम्रोसँग थाहा भएको उनले सुनाए । “मैले उहाँको कामलाई ढाकछोप गरेर हिडेको थिए उहाँले आफै पर्दा खोलिदिनु भयो, अब मैले के गर्ने” श्यामको प्रतिक्रिया यस्तो छ ।
चलचित्र ‘हिम्मतवाली’को यतिबेला महेन्द्रनगर पिप्लाडीमा सुटिङ्ग भईरहेको छ । पैतीस प्रतिशत काम सकेर निर्देशक काठमाण्डौं फर्किएपछि चलचित्रको निर्देशन स्वयं निर्मात्री तथा नायिका रेखा थापाले नै गरिरहेकी छिन् । लगभग चलचित्रको पचाँस प्रतिशत छायांकन सकिएको छ ।
यता, नायिका थापालाई यो बिषयमा सोध्दा उनको प्रतिक्रिया भने फरक छ । “सुटिङ्गमा मन लगाएर काम नगर्ने, मैले थाहा नपाई जुनियर आर्टिष्टहरुसँग पैसा खाने, फिल्मको अडिसन लिने बहानामा स्थानिय युवतीहरुप्रति गलत नजर राख्ने, राती सधै रक्सी खाएर आउने लगायत धेरै समस्याहरु उहाँमा देखेकाले गर्दा निकाल्नुपरेको हो” निकै कडा स्वरमा उनीले भनिन् “त्यस्ता मान्छेबाट के अपेक्षा गर्ने ? त्यही भएर मैले सुटिङ्ग स्थलबाटै दुई हात हानेर निकालेकी हुँ ।”
निर्देशक भट्टराई भने अभिनेत्री थापाले लगाएको यो आरोपलाई प्रमाण जुटाउन चुनौती दिन्छन् । उनले मलिन स्वरमा भने, “यो बिषयमा मलाई जवाफ दिन गाहृो छैन, मैले त्यस्तो गरेको भए उहाँसँग प्रमाण पनि त होला नि ?”सँगै उनले रेखा थापासँग बहिनीको नाता कायम रहेको सुनाउदैे ब्यबसायिक सम्बन्ध मात्रै धमिलिएको बताए ।
यता रेखा थापा पनि निर्देशक भट्टराईलाई आफ्नो दाई मानेर नै फिल्मको निर्देशन गर्ने जिम्मा दिएको सुनाउछिन् । उनले भनिन् “मेरो राम्रो कन्सेप्ट छ, मिलेर काम गरौ भनेर श्यामजीले भन्नुभयो, म पनि दाई हो भनेर राजी भए तर स्पटमा गएपछि पो थाहा भयो उहाँसँग केही आईडिया नै रहेनछ । उहाँमा आईडिया त छैन न,ै सँगै समस्या नै समस्या छ । उहाँले अझै धेरै सिक्न बाँकी रहेछ ।”
निर्देशक भट्टराईसँग चलचित्र ‘लंका’मा सँगै काम गर्दा पनि आफुलेनै निर्देशनको एङ्गगल लगाएको रेखाले दावी गरिन् । आफुले चलचित्र ‘हिम्मतवाली’को पनि पहिलो दिनदेखि नै निर्देशन गरिरहेको बताउछिन् ।
“श्यामजीसँग त स्पटब्वाईसँग जति पनि ज्ञान रहेनछ, उहाँ चलचित्रको होईन म्युजिक भिडियोको पनि निर्देशन गर्न सक्नुहुन्छ जस्तो लागेन”, उनले खिल्ली उडाईन ।
निर्देशक भट्टराईले जारी गरेको प्रेस विज्ञप्ती आफुले पढेको र प्रेस विज्ञप्ती पढ्दा पनि श्याम भट्टराई निर्देशक कम स्पटब्वाई बढी लागेको रेखाको भनाई छ । “उहाले निर्देशकको लेभलको कुरा नगरेको देख्दा खुब हाँसो लागेर आयो” अभिनेत्री थापा भन्छिन् “श्यामजीको करियर जोगाईदिन बिरामी भएर फकाईएको हो भनेर भनेको तर उहाँ त फिजिकल्ली मात्र होईन, मेन्टल्ली पनि सिक हुनुहुदो रहेछ ।”
छायांकन स्थलमा खाने बस्ने ‘न्युनतम सुविधा पनि छैन’ भन्ने निर्देशक श्याम भट्टराईको आरोपलाई खण्डन गर्दै उनले भनिन् “म पनि गाँउमै जन्मिएकी हुर्किएकी केटी हु, बिकट गाँउमा के कस्तो सुविधा हुन्छ हुन्न हामीलाई राम्रोसँग थाहा छ । यहाँ आएर फाईभस्टार होटलको जस्तो सुविधा खोजेर हुन्छ ?”
निर्देशक भट्टराईको न्युनतम आधारभुत कुराहरु नभएको भन्ने आरोपको चलचित्रका प्रोडक्सन म्यानेजर पुष्कर भट्टले पनि खण्डन गरे । उनले प्रेस बिज्ञप्तीमा लेखे जस्तो अवस्था त्यहाँको नभएको प्रतिक्रिया दिए ।
चलचित्रबाट निकालिएँ भनेर जे पायो त्यही लेख्ने र त्यही कुरा मात्रै सुनेर गलत अडकलबाजी नलगाउन उनले सबैलाई अनुरोध गरिन् । आफुले पनि चाडै प्रेस विज्ञप्ती जारी गर्ने बताउदै उनले भनिन ”थप कुराकानी काठमाण्डौं आएर गर्राैला ।”
निर्देशक श्याम भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ ।
प्रेस विज्ञप्ति
२०७०/११/२८
आदरणीय पत्रकार मित्रहरु,
पछिल्लो समय म निर्देशकको रुपमा संलग्न रहेको नेपाली कथानक चलचित्र “हिम्मतवाली”को सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट निर्मात्री रेखा थापाद्वारा निर्देशक अस्वस्थ भई उपचारका लागि काठमाडौं पठाइएको भनेर प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यस सम्बन्धका भ्रमहरु चिर्दै वास्तविकतालाई यहाँहरु समक्ष राख्न आवश्यक ठानेर यो प्रेस विज्ञप्ति सार्वजनिक गर्दैछु ।
रेखा फिल्मस् जसले “अजम्बरी नाता” देखि आजको मितिसम्म निर्माण गरेका सम्पूर्ण चलचित्रले पाएको व्यवासयिक सफलतासँगै उसले गर्ने व्यवस्थित व्यवस्थापनका बारेमा हामी कोही अनभिज्ञ छैनौ । पुराना र अनुभवी निर्माता छविराज ओझासँग यति धेरै चलचित्र र यतिलामो सहकार्य गरेकी, झण्डै २०० चलचित्रमा काम गरेर सबैको चलचित्र निर्माण गर्ने तौरतरिका बुझेकी यी लोकप्रिय अभिनेत्री÷निर्मात्री माथि पनि मलाई उत्तिनै भरोसा थियो । मेरो करिअरको एउटा अर्को सिढी थपिन्छ साथै एउटा स्तरीय चलचित्र निर्माणमा मद्दत मिल्छ यही सोचेर उहाँले दिएको निर्देशनको प्रस्तावलाई सहर्ष स्वीकार्नु मेरो निर्देशकीय धर्म थियो, मैले स्वीकारे । तर तयारीहरु अगाडि बढाइरहने क्रममा त्यो चुस्त व्यवस्थापनको जो मैले अपेक्षा गरेको थिए त्यो भइरहेको थिएन, मैले गुनासो गरिरहे । उहाँले त्यो सबै वातावरण दिन्छु, हुन्छ भनेर भनिरहनु भएको थियो ।
छायाङ्कनको मिति २०७०/११/१५ देखि तय भएको थियो । मैले १ हप्ता स्थानीय छायाङ्कन स्थलमा पुगेर निरीक्षण गर्ने समय माग गरे किनकी उहाँले उहाँ वाहेकका सम्पूर्ण कलाकार, आधी जसो प्राविधिक र बस्ने, खाने यातायात सबै उतैबाट मिलाएको जानकारी दिनुभएको थियो । म विश्वस्त हुन पनि अगाडि जानुपर्ने हुन्थ्यो । म मेरो सहायक बोकेर काठमाडौंबाट निस्किएँ । तर, अफसोच उहाँले म सुदूरपश्चिमको महेन्द्रनगर पुग्नु अघि नै अरु बाँकी यूनिटलाई हिडाइदिनुभयो, रोक्न अनुरोध गर्दा मान्नु भएन । म त्यहाँ ओर्लएिपछि थाहा भयो उहाँले विश्वास दिलाएको कुनै पनि कुराहरु तयारी त के पहल पनि भएको रहेनछ । अत्यन्तै अस्तव्यस्तताका साथ छाँयाङ्कन शुरु गर्नुपर्ने प्रेसरका बावजूद छाँयाङ्कन शुरु भयो, शायदै यस्तो गरी कसैले छायाङ्कन शुरु गर्ला । न कुनै प्रोडक्सन म्यानेजर, न कुक, न स्पटब्वाइज, न यूनिटलाई क्यामरा बोक्ने गाडी यतिसम्म कि जुन बस्तीमा १ महिना बस्नुपर्ने थियो त्यहाँ न ओढ्ने, ओछ्याउनेको व्यवस्था थियो । प्रोडक्सनबाट दिएको सुविधाको एउटै सिरकलाई डस्ना पनि, सिरानीपनि बनाएर बसेका ती अन्य कलाकार प्राविधिकहरुका जिउमा निस्किएका घाउ, खटिराका निशानहरु शायद एक महिनापछि प्रत्यक्ष सबैले देख्ने छन् । कलको पानी पिउनुपर्ने अवस्थाबाट बिरामी परेकाहरुको त कुरै छोडौं, उहाँ लोकप्रिय अभिनेत्री/निर्मात्री त्यो बस्तीमा बस्ने कुरै थिएन , कतिपटक म आफूले स्थानीयको टायर गाडाको भाडा तिरेर रात बिहान छायाङ्कन गरेको ठाउँदेखि बसेको घरसम्म ल्याउन पुर्याउन ति सोझा प्राविधिहरुलाई दुःख दिएको छु । स्पटव्वाय नहुँदाको स्पटको दुःख, व्यवसायिक कुक नहुँदाको खानाको अस्तव्यस्तता, सुटिङ हेर्न आउनेलाई तान्दै कलाकार बनिदिन अनुरोध गर्नुपर्ने यावत झमेलाहरुसँग गुज्रिरहँदा एउटा निर्देशकले आफ्नो सृजनशिलताको कतिको सदुपयोग गर्न सक्ला ? यति हुँदाहुँदै पनि आफैले सहेर, आफ्ना सम्पूर्ण सदस्यहरुलाई सान्त्वना दिँदै काम गराएर पनि रेखाजीमा कसैप्रति सहानुभूतिको संकेत थिएन र म ठोकुवा गर्छु आज पनि त्यो छायाङ्कन त्यसरी नै कुदिरहेको छ ।
परिस्थितिहरुलाई नजिकबाट नियालेर पनि रेखाजीले सँधै निर्देशकको सुस्ततालाई औल्याउनु भयो । यसरी नै सकाउँछु भन्ने ढिपी छोड्नु भएन । नखाउ दिनभिरको शिकार, खाउँ कान्छो बाउको अनुहारको स्थिति भएपछि मैले उहाँलाई सचेत गराउनु मेरो कर्तव्य थियो । यति मात्र नभई काठमाडौं मै छँदा मेरो वहाँसँग सुटिङ स्पटमा मैले काम गरिरहँदा उहाँले हस्तक्षेप नगर्ने मुख्य सहमतिको उल्लघंन छायाङ्कनको पहिलो दिनमा नै गरिदिनुभयो । यसरी समस्याको निराकरण गर्नुको साटो पटकपटक मलाई पदमुक्त गर्ने धम्की दिनुभयो । हुन त निर्देशकले चाँहदा उहाँको छायाङ्कन रोकिएर सम्पूर्ण टोली फर्काउन पनि सकिन्थ्यो तर दैनिक रोजगारी गरेर छाक टार्नु पर्ने ति मजदूर साथीहरु जसले १० प्रतिशत मात्र पेश्की लिएका थिए, उनीहरुको श्रमको मूल्य पनि रोकिन्थ्यो, त्यसैले मैले त्यो गर्न सकिन र म त्यहाँबाट निस्किएर राजमार्गको होटलमा आएर बसे । त्यसको लगत्तै छविराज ओझाले मलाई फोन गरेर आफ्नै मातहतमा सम्पूर्ण काम सकाएर मात्रै हिड्नु भनेपछि रेखाजीबाट केही खबर आउला भन्ने लाग्यो तर उहाँमा कमजोरी स्वीकार्ने र सुधार्ने सम्भावना न्यून थियो ।
अब रोकिनु भन्दा यात्रा तय गर्नु नै उचित ठानेर म त्यहाँबाट निस्किएँ, काठमाडौं पुगेपछि थाहा भयो म बिरामी भएर थप उपचारका लागि पठाइएको रहेछु, म निस्कना साथ रेखाजी निर्देशक नै भैसक्नु भएछ । हुन त आफ्नो अनुकूल हुँदा प्रयोग गर्ने पछि फ्ँयाकिदिने वहाँको पुरानो स्वभाव म लगायत समस्त चलचित्रकर्मीहरुले बुझेकै हो । आज त्यही प्रयोगको पात्रभित्र मेरो सँख्या पनि थपियो ।
यस अघि म द्वारा निर्देशित लंका, च्यालेन्ज जस्तो चलचित्रमा सहकार्य गरेर, सँगै हात पारेका उपलब्धिहरुलाई बिर्सेर आज रेखाजीबाट जुन व्यवहार भयो त्यसको मूल्याङ्कन समस्त सञ्चारकर्मी साथीहरु, सहकर्मी साथीहरु, अग्रजहरु र प्यारा दर्शकहरुबाट हुने नै छ । चेलीको खुशीको लागि आफ्नो भण्डार पनि खाली गर्न पछि नपर्ने हाम्रो परम्परा छ । हिम्मतवाली भन्ने घरको स्वरुप त तयार गरिदिएको छु अब त्यसलाई रेखाजीले राम्ररी रंग्याउन सक्नुहोस र सफलता चुम्नुहोस्, मेरो हार्दिक शुभ–कामना ।
श्याम भट्टराई
निर्देशक