गायक रामकृष्ण ढकालले निकै लामो समयपछि एकल साँझ कार्यक्रममा उत्रने भएका छन् । नयाँ बर्षलाई स्वागत गर्दै उनले चैत्र ३० गते तेस्रो ढकाल सुमधुर साँझ गर्न लागेका हुन् । ‘ढकाल सुमधुर साँझ २०७०’ नाम दिईएको उक्त कार्यक्रममा लगभग ६०० जनाको उपस्थिति रहने अनुमान गरिएको छ ।

काठमाण्डौको सांग्रिला होटलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै गायक ढकालले कार्यक्रमलाई सभ्य र भब्य बनाउन कुनै कन्जुस्याई नगरिएको बताए । कार्यक्रममा ढकालले दुई दर्जन बढी गीत गाउने तयारी गरिरहेका छन् ।

कार्यक्रममा नेपाली सहित दार्जिलिङ्ग र सिक्किमका एक दर्जन बढी बाद्यबादकले रामकृष्णलाई साथ दिनेछन् । कार्यक्रममा अन्य केही गायक गायिकाले पनि गीत गाउनेछन भने केही हाँस्यकलाकारहरुले पनि उपस्थित दर्शकलाई हसाँउने बताईएको छ ।

“मेरो जिवनमा यो कार्यक्रमले निकै ठुलो महत्व राखेको छ” गायक ढकालले भने “मेरो एकल साँझलाई सफल बनाउन मैले अरु केही कार्यक्रमहरु पनि पछि सारेको छु ।”

तीन दशकको सांगितिक यात्रामा रामकृष्णले यसअघि २०४५ साल र २०५५ सालमा ढकाल सुमधुर साँझ गरेका थिए । प्रत्येक दश दश बर्षमा ढकाल सुमधुर साँझ गर्ने योजना भएपनि यसपाली कार्यब्यस्तताले गर्दा कार्यक्रम गर्न पन्ध्र बर्ष लागेको गायकले सुनाए ।

नयाँ बर्षको पुर्व सन्ध्यामा राजधानीको याक एण्ड एती होटलमा कार्यक्रम हुनेछ । ककटेल डिनरसहितको कार्यक्रमका लागि टिकटदर पाँच हजार रुपैया तोकिएको छ ।

ग्रिष्मा इन्टरटेन्मेन्ले कार्यक्रमको ब्यबस्थापन गर्दैछ । ग्रिष्मा इन्टरटेन्मेन्टलाई इभेन्ट ब्यबस्थापक निशान्त पी श्रेष्ठ र संगीतकर्मी अनिल गजमेरले पनि यस कार्यक्रमका लागि सहयोग गरेका छन् ।

ग्रिष्मा इन्टरटेन्मेन्ट प्रमुख ग्रिहेन्द्र घिमिरेका अनुसार रामकृष्ण ढकालको यो कार्यक्रमलाई अहिलेसम्मकै भब्य कार्यक्रम हुनेछ । विदेशी कलाकार नेपाल आउदा जस्तो किसिमको साउण्ड र लाईट प्रयोग गरिन्छ यो कार्यक्रममा पनि त्यस्तै हुने घिमिरेले जानकारी दिए ।

For More videos Log on to Mazzako TV