चलचित्र पत्रकार संघ, नेपालले आफ्नो १८ औ बाषिर्कोत्सवको अवसर पारेर ‘चलचित्र पत्रकारिता सम्मान, पुरस्कार तथा प्रोत्साहन प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथीद्धय नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट र बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले सम्मानित र पुरस्कृत हुने पत्रकारहरुलाई सम्मान गरेका हुन् । यो बर्षको चलचित्र पत्रकारिता सम्मान डाक्टर नवराज लम्साललाई प्रदान गरिएको छ । उनको अनुपस्थितीमा उनकी धर्मपत्नीले सम्मान ग्रहण गरेकी थिइन् ।

यस्तै, यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत रंग पत्रकार पारसमणी पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’ लाई पुरस्कृत गरियो । पौडेल र सुवेदीलाई सम्मान पत्र, ट्रफी र नगद २१ हजार सहित पुरस्कृत गरिएको हो । यस्तै, चलचित्र पत्रकार संघले यसै बर्षबाट ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि प्रदान गरेको छ । यो बर्ष पत्रकार स्वेच्छा राउतलाई सम्मान पत्र, ट्रफी र ल्यापटप सहित यो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरुले शुभकामना दिदै चलचित्र पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनु पर्ने बताए । यस्तै, कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले चलचित्र पत्रकारहरुले नेपाली चलचित्र क्षेत्रको विकासमा टेवा र्पुयाएको बताए । अर्का, प्रमुख अतिथी कलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिता पनि डिजिटल युगमा प्रवेश गरेको बताए । कार्यक्रममा, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारिता अझ परिस्कृत बन्दै गएको बताएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संघले चलचित्र पत्रकारहरुको हक हितका लागि सधै काम गरिरहने बताए । उनले विभिन्न कष्ट र भोगाइका बाबजुत पनि आफूहरु निरन्तर चलचित्र पत्रकारहरुको हक हितका लागि लागिपर्ने बताएका थिए । चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्षको जेठ ७ गते स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्दै आइरहेको छ । यस्तै, कार्यक्रममा कलाकार दिपक क्षेत्रीको उपचारका लागि चलचित्र पत्रकार संघको पहलमा संकलन भएको नगद ७ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । साथै, संघको १८ औ बाषिर्कोत्सवको अवसर पारेर केक पनि काटिएको थियो । तस्बिर : श्रीधर पौडेल

For More videos Log on to Mazzako TV