भारतमा संभवत यस्तो ऐतिहासिक चमत्कार कुर्न अझै धेरै बर्ष दर्शकले कुर्नुपर्ने पक्का छ । एउटा फिल्मले बनाएको रेकर्ड, अर्को फिल्मले सजिलै तोडिरहेका थिए । तर, अब शुक्रबारबाट रिलिज भएको फिल्म ‘बाहुवली २’ले बनाएको रेकर्ड तोड्न भने बलिउडका सुपरस्टार खानहरुलाई भने फलामको चिउरा चपाए जस्तै हुने देखिएको छ ।

भारतभर करिब ८ हजार हलमा रिलिज भएको यो फिल्मले प्रदर्शनको पहिलो दिनमै चमत्कारिक रेकर्ड बनाएको छ । बलिउडकै कुरा गर्ने हो भने पनि, खानहरुका फिल्मले ३ दिनमा सय करोडको व्यापार गरेका छन् । जसलाई निकै आक्रामक व्यापार भनेर चर्चा गरिन्छ । तर, यी व्यापारहरु अब सानो हुने भएका छन् ।

‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्नका कारण चर्चामा रहेको यो फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा १ सय २१ करोडको व्यापार गरेको छ । एसएस राजमौलीको निर्देशनमा तयार भएको ‘बाहुवली २’ले हिन्दी भर्सनमा ४१ करोड कमाएको छ । फिल्मले तेलुगु, तामिल र मलायालम भाषामा ८० करोडको व्यापार गरेको छ । प्रवास, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले भारतमा शुक्रबार १२१ करोडको नेट कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ ।

बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्ड यो चलचित्रले तोडेको छ । फिल्मले शनिबार र आइतबार पनि यही हारहारीको व्यापार गर्ने अनुमान गरिएको छ । विश्वभरबाट फिल्मले पहिलो दिनमै २ सय करोडको व्यापार गरेको छ ।

For More videos Log on to Mazzako TV