नयाँ शक्तिमा व्यस्त भएपछि अभिनेत्री करिश्मा मानन्धर फिल्मको सुटिङ देखि टाढा थिइन् । तर, मंगलबार भने करिश्मा पार्टीको कार्यक्रमलाई परै राखेर फिल्म ‘तिमी सँग’ को सुटिङमा व्यस्त भइन् । ‘शिशिर जीको आग्रहलाई टार्न सकिंन त्यसैले सुटिङमा आएको’ करिश्मा भन्दै थिइन्, ‘बुधबार पनि सुटिङमै व्यस्त हुन्छु होला ।’

कलाकार शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको फिल्म ‘तिमी सँग’ मा करिश्मालाई एउटा गीतमा मात्रै देख्न पाइनेछ । ‘गीत पनि राम्रो छ’ करिश्माले भनिन्, ‘सबै नयाँ कलाकारहरु छन् उनीहरुलाई हौसला दिन पनि म नाच्न तयार भएको हुँ ।’ लोक लयको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठले कम्मर मर्काउने छन् ।

बालाजुस्थित एनएफडिसी लगाइएको सेटमा कोरियोग्राफर रामजी लामिछाने सबेरै पुगेका थिए । मंगलबार उनको जन्मदिन पनि परेको थियो । उनलाई सुटिङ युनिटले सेटमै वर्थ डे केक समेत काटिदिएको थियो । कोरियोग्राफर लामिछानेले जीवनमै पहिलो पटक जन्मदिनमा केक काटेको बताउँदै सबैलाई धन्यवाद दिए ।

निर्देशक तथा निर्माता राणाले सुटिङ सकाएर चाँडै नै प्रदर्शन मिति घोषणा गर्ने बताए । उनले भने, ‘फिल्मको केही पार्ट मात्रै खिच्न बाँकी छ । सबै सुटिङ सकाएर फिल्मको एउटा गीत र प्रदर्शन मिति सार्वजनिक गर्नेछौं ।’ फिल्ममा गीत मात्रै ७ वटा रहेको उनले जानकारी दिए ।

For More videos Log on to Mazzako TV