सिन्धुपाल्चोक जिल्लामा रहेको माझी  बस्ती निर्माणमा आर्थिक सहयोग गर्ने सहयोगी दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन् । पुलतीसडकस्थित स्टार मलमा रहेको श्री फाउण्डेशनको कार्यालयमा हालसम्म बस्ती निर्माणमा सहयोग गर्ने ६ जनालाई श्वेताले सम्मान पत्र दिदैं शुक्रबार सम्मान गरेकी हुन् ।

अमेरिकाबाट तीन लाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एक लाख रुपैयाँ सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचास हजार सहयोग गर्ने सामाखुसीकी शान्ता बस्नेत, जापानमा रहेर पचास हजार सहयोग गर्ने आरोही सुवेदी, हाल कोरिया बस्ने काठमाण्डौं अनामनगरका पच्चीस हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई श्वेताले सम्मान गरिन् ।

आउँदो दुई साता भित्र बस्तीको शिलान्यास हुने जानकारी दिदैं श्वेताले प्राप्त सहयोग रकम पारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताइन् । उनले भनिन्, ‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् भनेर हामीले सम्मान पत्र दिएका हौं । हामीलाई सहयोग गर्ने हरेकलाई हामी सम्मान गर्छौं । जसले प्राप्त सहयोगको पारदर्शीता पनि देखाउँछ ।’

माझी बस्तीमा रहेका ६३ घर धुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ । सरकारले अनुदान दिने तीन लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने श्वेताले लक्ष्य राखेकी छिन् । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनलाई बस्ती निर्माणमा सहयोग गर्न आग्रह गरिन् । पहरी बस्ती श्वेताका स्व.पती श्रीकृष्ण श्रेष्ठको सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।

For More videos Log on to Mazzako TV