काँग्रेसीजन भन्छन्, “सुशील‘दा’ नचिनेका पनि बोलाउनुहुन्थ्यो’’
- दीपेन्द्र सापकोटा
काठमाडौं । “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो।।”, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राति अकस्मात् निधन भएपछि कविशिरोमणि लेखनाथ पौड्यालको यो कविता पाँचथर निवासी एक काँग्रेस कार्यकर्ता नरेश रिजालले उच्चारण गरे ।
उनको देहावसानको खबर सुनेपछि पत्याउन नसकेर आफैं पुष्टि गर्न कोइराला निवास महाराजगन्ज आउनुभएका उनले भने, “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ ।”
रिजाल मात्र होइन बिहानै कोइराला निवास पुगेका सबै काँग्रेसीजन नेता कोइरालाको निधनलाई पत्याउन सकिरहेका थिएनन् । उनीहरु जिज्ञासु भएर यताउता गरिरहेका थिए । मृत्यु स्विकारेका केही कार्यकर्ता भने ‘नेपाली काँग्रेस जिन्दावाद’, सुशील‘दा’ अमर रहून् जस्ता नारा लगाइरहेका थिए ।
नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता रुपा पोखरेल पार्टीले अभिभावक गुमाएको कुरा पत्याउन नसकिरहेको बताउँछन । कोइरालाको अभिभावकत्व सधैं पाएको बताउँदै उनले भने, “उहाँ कार्यकर्तालाई धेरै रेखदेख गर्नुहुन्थ्यो, नचिनेको मान्छेलाई पनि एकै चोटि चिनेजसरी बोलाउनुहुन्थ्यो ।” यति भनिरहँदा उहाँका आँखाका आँसु रोकिएनन् ।
कोइराला निवासमा भेटिएका काँग्रेस युवा नेता गगनकुमार थापा पनि कोइरालाको निधन पत्याउन सकिएको थिएन । कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गर्दै उनले भने, “काँग्रेसको एउटा धरोहर ढलेको छ, अब उहाँले लोकतन्त्रका लागि अविचलित भएर लडेको कुराबाट सिक्दै हामी अघि बढ्नुपर्छ ।”
नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई स्वच्छ छवि भएको नेतामध्ये कोइराला सबैभन्दा अगाडि रहेको बताउँदै भन्छन, “देशले एउटा इमान्दार नेता गुमाएको छ ।” नेवि सङ्घका केन्द्रीय सदस्य प्रकाश महर्जन ‘कोइरालाको सम्मानका लागि अब काँग्रेसले ६०/४० को राजनीति त्याग्नुपर्छ’ भन्छन । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले ‘कोइराला सुरुदेखि नै पार्टीको ‘डेडिकेटेड’ कार्यकर्ता रहेको स्मरण गर्छन ।
For More videos Log on to Mazzako TV