वीरगन्ज। भारतीय आयल निगम(आइओसी) रक्सौल डिपोले नेपाल आयल निगमले पठाएको ट्यांकरमा आजदेखि इन्धन भर्न सुरु गरेको छ ।

सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र आइओसी रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्यांकर पठाइदिन आग्रह गरेपछि निगमले शनिबार रक्सौलतर्फ ट्यांकर पठाएको भए पनि आइतबार सार्वजनिक बिदा परेकाले आजदेखि इन्धन भर्न सुरु गरेको पर्साका प्रजिअ केशवराज घिमिरेले बताउनुभयो ।

Birjung Border Reopens

File Photo

“अहिले ३५ वटा ट्यांकरमा तेल लोड भइरहेको छ”, प्रजिअ घिमिरेले भन्नुभयो – सबै प्रक्रिया पूरा गरेर सम्भवतः आजै राति इन्धन लोड भएका सबै ट्यांकर नेपाल भित्रिनेछन् ।”

लामो समयदेखि अवरुद्ध वीरगन्ज–रक्सौल भन्सार नाकाबाट गत असोज ७ गतेयता कुनै पनि ट्यांकर रक्सौल डिपोमा इन्धन भर्न गएका थिएनन् । असोज ७ झण्डै पाँच महिना पछि मात्र रक्सौलबाट इन्धन भर्न सुरु गरिएको हो ।

मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल र डिजेल तथा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको निगमको अमलेखगन्ज डिपोले जनाएको छ ।

इन्धन नियमित गराइने आइओसीको प्रतिबद्धता
यसैबीच भारतीय आयल निगम (आइओसी)ले रक्सौल नाकाबाटै आवश्यक इन्धन उपलब्ध गराउने भएको छ ।

तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण रक्सौल नाका अवरुद्ध भएकामा नेपाल आयल निगमका आग्रहमा आइओसीले मार्ग परिवर्तन गरी अन्य नाकाबाट इन्धन आयात गर्दै आएको थियो ।

शुक्रबारदेखि सो नाका सहज भएसँगै निगमको पुनः आग्रहमा साविक झैं रक्सौल नाकाबाटै इन्धन उपलब्ध गराउन आइओसी सहमत भएको हो ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले नाका सञ्चालन भएसँगै पुरानै बाटो(रक्सौल)बाटै इन्धन उपलब्ध गराउन आइओसी सहमत भएको जानकारी दिए ।

निगमले मार्ग परिवर्तन गरेर विभिन्न स्थानमा रहेका रक्सौल–काठमाडौँ सञ्चालन हुने ग्यास बुलेट तथा ट्यांकरलाई पुरानै मार्गमा केन्द्रित हुन निर्देशन गरिसकेको छ ।

आइओसीको प्रतिबद्धता अनुसार नाकाबन्द हुनु अगाडि जस्तै रक्सौलबाटै इन्धन उपलब्ध हुने विश्वास उनले व्यक्त गरे ।

For More videos Log on to Mazzako TV