भक्तपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ ।

सोमवार तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जनाएको छ । वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै मोर्चाले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

महतोको आलोचना
मोर्चाको बैठकमा मोर्चाका प्रभावशाली नेता राजेन्द्र महतोको आलोचना भएको छ। बैठकमा महतोका पछिल्ला भनाईले मधेस आन्दोलनलाई ठूलो क्षति पुगेको निष्कर्ष निकालिएको छ।

मोर्चाले औपचारिकरुपमा नै महतोका गतिविधिले आन्दोलन पछि धकेलिएकोले यस्ता कार्य नगर्न निर्देशन दिने समेत निर्णय गरेकोछ।

सोमबार विहान समेत मोर्चा नेताको अनौपचारिक बैठक बसेको थियो। ठाकुरकै निवास लोकन्थलीमा मोर्चाका चारै जना शीर्ष नेता उपस्थित थिए। तर महतो अनुपस्थित थिए। बैठक पछि जारी विज्ञप्तिमा उनको नाम उल्लेख गरे पनि उनको हस्ताक्षर छैन। ‘महतो जी सँगकै सल्लाहमा दिउँसोको बैठक राखिएको थियो, तर बैठकमा उहाँ आउनु भएन’, मोर्चाका नेता महेन्द्र यादबले भने। के कारणले महतो बैठकमा सहभागि भएनन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको यादबले बताए।

विहार भ्रमण पछि महतोले वीरगन्ज नाका खुल्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्ति पछि अचानक वीरगन्ज नाका खुलेको थियो। वीरगन्ज नाका खुलेको जस महतोले लिन खोजेको भन्दै मोर्चा भित्र असन्तुष्टि बढेको थियो।

For More videos Log on to Mazzako TV