• कालिका खड्का

नुवाकोट । स्थानः नुवाकोटको तारुकास्थित नेकपा (एमाले) जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको अस्थायी टहरो, जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल निकै छट्पटीमा देखिन्थे ।

मन्त्री पोखरेलले कोटको खल्तीबाट मोबाइल झिक्नुभयो । नम्बर थिच्दै फोन गर्ने प्रयास गर्नुभयोे । तर मोबाइलमा ‘नो नेटवर्क’ सिग्नल देखियो । पुनः थिच्नुभयो, फेरि पनि नेटवर्क देखिएन ।

कुर्सीमा बस्नुभएको मन्त्री जुरुक्क उठे । वरपर टावर हेर्दै फेरि मोबाइल थिचे । मोबाइलले फेरि पनि नो सिग्नलको सङ्केत नै गरिरहेको थियो ।

Ananda Pokheralछट्पटिरहनु भएका मन्त्रीले फेरि कोटको खल्तीबाट अर्को मोबाइल निकालेर नम्बर डायल गरे । फेरि पनि हालत पहिलेकै दोहोरियो । त्यसबेला मन्त्री पोखरेलले निकै हतासिँदै भने, “मेरो फोन गर्नुपर्ने जरुरी काम थियो, मोबाइलमा नेटवर्क नै छैन ।”

त्यसबेलासम्म वरिपरि मानिसको घँुइचो लागिसकेको थियो । सबैले मन्त्रीतिर हेर्न थाले । आफ्नो अस्थायी टहरोबाट निस्किँदै एमाले जिल्ला अध्यक्ष खतिवडाले थपे, “यहाँ त मोबाइलको टावर नै आउँदैन, देश विदेशमा आफन्तसँग कुरा गर्न वडो मुस्किल छ ।”

मन्त्रीले अचम्म मान्दै सोध्नुभयो, “यहाँ कहिलेपनि मोबाइलको नेटवर्क आउँदैन अनि कहाँ पुगेर फोन गर्नुहुन्छ ?” । मन्त्रीको जिज्ञासा नसकिँदै स्थानीय कृष्णबहादुर माझीले थपे,“ यहाँ त नेटवर्क नै आउँदैन, बरु मन्त्रीज्यूले मोबाइलको टावर राखिदिन पहल गरिदिनुपर्यो ।” माझीसँगै अरुले पनि मन्त्रीलाई यस्तै आग्रह गरे ।

नुवाकोट क्षेत्र नं ३ बाट विसं २०६४ सालमा विजयी तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले सो क्षेत्रमा नेपाल टेलिकमको टावर राख्नका लागि निकै प्रयास गरेका थिए। तर उनको निधनपछि टावर राख्ने काम हुनसकेको छैन ।

स्थानीय बासिन्दाले धेरैपटक टावर राख्न पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन । राजधानीबाट नजिकैको दूरीमा रहेको भएपनि नुवाकोटको तारुका क्षेत्रमा टेलिकमको टावर छैन । स्थानीयले विगतमा भएका प्रयास मन्त्री पोखरेललाई सुनाए ।

“यस बारेमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईसँग कुरा गर्छु”– मन्त्री पोखरेलले स्थानीयलाई वचन दिए ।

भूकम्पपीडितका लागि बनाइएका अस्थायी भवन हस्तान्तरण गर्न मन्त्री पोखरेल सोमबार तारुका पुग्नुभएको थियो । समय अघि बढिरहेको थियो । त्यत्तिकैमा पन्चैबाजासहितको टोली त्यहाँ आइपुग्यो । बाजा घन्किएको आवाजले सबै मानिसको ध्यान केन्द्रित गर्यो । अनि त्यहाँभएका सबैजना औपचारिक कार्यक्रमस्थल माझीटारतर्फ लागियो ।

यसरी स्थानीयले सधैँ भोगेको समस्या मन्त्री पोखरेलले पनि भोग्नुभएपछि टावर राख्ने कुरामा केही प्रगति भैहाल्छ कि भन्ने आशा भने स्थानीयमा जागेको अनुभूति भयो । रासस

For More videos Log on to Mazzako TV