विराटनगर। उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाँडो गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा पूर्वाञ्चल विकास क्षेत्रको आव २०७२/०७३ को अर्धवार्षिक समीक्षा गोष्ठीको विराटनगरमा आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले स्थानीय निकायको निर्वाचनका लागि सरकार र सतारुढ दल एकमत भइसकेको र प्रतिपक्षसँग यस विषयमा छलफल भइरहेको जानकारी गराए।

उनले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी सुम्पनुअघि स्थानीय निकायलाई सवल, सक्षम र व्यवस्थित निकायका रुपमा परिणत गरी जिम्मेवारी सुम्पन कर्मचारीलाई सुझाव दिए ।

देश नयाँयुगमा प्रवेश गरेकाले अब नयाँचरणबाट आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै उनले भने– “पुरानो सोचले चुनौतीलाई सामना गर्न नसक्ने भएकाले अब राजनीतिक पक्ष र प्रशासनिक पक्षको कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ ।”

Kamal Thapa in Parliamentस्थानीय निकायको सन्दर्भमा संविधानमा ठोस व्यवस्था गरिएको चर्चा गर्दै उनले पुनःसंरचित निकाय स्थानीय सरकारको अवधारणाअनुरुप निर्माण हुने बताए।

उनले विश्वव्यापी मान्यतालाई अवलम्बन गरी हरेक निकायमा समानुपातिक र समावेशीको व्यवस्था गरिएकाले यो संविधान अग्रगामी र प्रगतिशील रहेको स्पष्ट पारे।

विभिन्न राजनीतिक मान्यता बोकेका ३१ दलको सहभागिताको संविधानसभाको विविधताबीचबाट एउटा साझा दृष्टिकोणसहित संविधान साझा दस्तावेजको रुपमा रहेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले संसारको कुनै पनि संविधान शतप्रतिशत आफैँमा पूर्ण हुँदैन ।

सो अवसरमा स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले यस गोष्ठीको माध्यमबाट यस क्षेत्रमा चालु आवको छ महिनाको अवधिमा भएका कार्यको मूल्याङ्कनका साथै काम गर्ने क्रममा देखिएका अप्ठ्यारा, कमीकमजोरीलगायतका विषयमा जानकारी प्राप्त हुने बताए ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङले मधेस आन्दोलनका कारण विकास निर्माणको कार्यलाई ध्यानमा राखी इन्धन आपूर्तिको व्यवस्था मिलाइएको जानकारी गराउँदै भ्रष्टाचार नियन्त्रण र काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

सो अवसरमा स्थानीय विकास सहायकमन्त्री विराजबहादुर विष्ट तथा सहसचिव रेशमराज पाण्डेलगायतले पनि बोलेका थिए ।

उक्त एकदिने गोष्ठीमा पूर्वाञ्चलका स्थानीय निकायका पदाधिकारीले आआफ्ना जिल्लाका चालु आवको छ महिनामा गरिएका कार्यको प्रगति विषयमा जानकारी गराउनेछन् ।

For More videos Log on to Mazzako TV