सप्तरी। सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताएका छन् ।Rajendra Mahatao

सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

नेता महतोले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी) ले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे ।

मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन भएन भने देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो ।

साथै उनले वार्ताको नाममा सरकारले आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको र अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबी गरे ।

पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।

For More videos Log on to Mazzako TV