काठमाडौं । व्यवस्थापिका–संसद्को वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण रक्सौल नाकामा अड्किएका ग्यास बुलेट मार्ग परिवर्तन (रि–रुट) गरेर नेपाल भित्र्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहिवारको बैठकले मार्ग परिवर्तन गर्दा लाग्ने शुल्क नेपाल आयल निगमलाई व्यवस्था गर्न र त्यसका लागि आवश्यक नीतिगत एवम् व्यवहारिक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति भीष्मराज आङ्देम्बेले रक्सौलबाहेकका नाकाबाट आयात भएका ग्यासलाई न्यायोचित वितरणको व्यवस्था मिलाउन र कालोबजारी नियन्त्रणका लागि उचित कदम चाल्न निर्देशन दिए ।

उपत्यकामा चर्को ग्यास अभाव भएका समयमा १४.२ किलो ग्यास सिलिण्डरलाई आधा गरेर बिक्री गर्ने निर्णयलाई पुनर्विचार गर्ने विषयमा सरकार चाडो निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै उहाँले सिलिण्डर अभावका कारण उपभोक्तासमक्ष ग्यास पुर्याउन सकिएन भन्ने अवस्था आउन नहुने बताए ।

CA-buildingग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याइँदै

यसैबीच रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सहर रक्सौलमै थन्किएका थिए ।

रक्सौल बजारदेखि करिब पाँच किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५५ वटा ग्यास बुलेटलाई रि–रुट गरी सुनौली र जोगवनी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकको भनाइ छ ।

सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भन्सार जाँचपास भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट नेपाल भित्र्याउन सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो ।

रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय भन्सार कार्यालयलाई देखाएर बुलेट नेपाल ल्याउने प्रयास सुरु भएको छ । भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट बुलेट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएका ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आलय निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ ।

पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन सुरु भइसकेको र केहि दिनभित्रमै ती ग्यास बुलेट पनि नेपाल भित्र्ने छन् । यस्तै कागजात दाखिला नगरेका बुलेटलाई इन्डियन आयल कर्पोरेसनले अर्को नाकाबाट पठाउने तयारी गरेको छ । बाँकी बुलेटको हकमा रि–रुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताए।

भन्सार दाखिला र रुट निर्धारणले झन्डै ३०० बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेट आधाभन्दा कममा सीमित भएको थियो । इन्डियन आयल कर्पोरेसनको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ । भारतको पश्चिम बङ्गालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुरावाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रि–रुटका लागि फिर्ता गरिएको रक्सौलस्थित भारतीय भन्सारका अधिकारीको भनाइ छ । रक्सौलमा थन्किएका करिब २५५ बुलेटमध्ये आधा बरौनी र बाँकी हल्दिया र मथुराबाट आएका हुन् ।

वीरगन्जस्थित निगमका क्षेत्रीय प्रमुख अभिषेख ठाकुरका अनुसार ग्यास बुलेटको रि–रुट गराउन पश्चिम बङ्गालको हल्दियास्थित इन्डियन आलय कर्पोरेसनको रिफाइनरीमा पुगेको छ । एक बुलेटले एक हजार २५० सिलिण्डर ग्यास भर्ने गर्छ । त्यसअनुरुप सीमावर्ती क्षेत्रमा रोकिएका सबै बुलेट ल्याएर आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने हो भने झन्डै पाँच लाख परिवारको चुल्होमा खाना पाक्ने निगमको अनुमान छ ।

For More videos Log on to Mazzako TV