काठमाडौं । संविधान जारी भएपछि उत्पन्न राजनीतिक अवस्था बुझ्न नेपाल आएका राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यानले आज राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसंग भेटवार्ता गरेका छन् ।

राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष दुतका रुपमा नेपाल आएका फेल्टम्यानले शुक्रावर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । राष्ट्रपति कार्यालयमा भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले नेपालका साथै विश्वका विभिन्न मुलुकमा शान्ति स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले निर्वाह गर्दैआएको सक्रिय भूमिकाको सराहना गरिन् ।

त्यस अवसरमा उनीहरुबीच राष्ट्रसङ्घको सदस्यका रुपमा नेपालले निर्वाह गरेको भूमिका तथा नेपालको समसामयिक परिस्थितिबारे विचार विमर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले बताए ।

Kp-oli-and-Jeffrey-Feltmanभेटमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट नेपालमा हुनसक्ने सहयोगका सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव पोखरेलले बताए ।

राष्ट्रपतिले जनप्रतिनिधिमूलक संविधानसभाबाट जारी भएको संविधानका सकारात्मक एवं महत्वपूर्ण पक्षबारे उपमहासचिवलाई जानकारी गराउँदै त्यसैको परिणामस्वरुप नेपालले प्रथम महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको बताइन ।

‘उपमहासचिव फेल्टम्यानले महासचिव बानकी मुनका तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालले प्रथम महिला राष्ट्रपति पाउनु विश्वका अन्य मुलुकका निम्ति प्रेरणाको विषय भएको बताउनुभयो,’ पोखरेलले भने ।
सबै किसिमको सहयोग चाहन्छौं : प्रम

त्यस्तै फेल्टम्यानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा ओलीले सङ्कटको वर्तमान अवस्थाबाट नेपाललाई पार लगाउन उक्त विश्व संस्थाबाट नेपालले हरतरहको सहयोगको अपेक्षा गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सञ्चारकर्मीलाई बताए । ‘नेपालले झेल्नुपरेको मानवीय सङ्कटका बेला संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त नैतिक समर्थन र सहयोगप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो,’ रिमालले भने ।

उपमहासचिव फेल्टम्यानले जारी सङ्कटबारे राखेको जिज्ञासाको प्रत्युत्तरमा प्रधानमन्त्रीले असल मनशायका साथ आन्दोलनरत सबै पक्षसँग वार्ता भइरहेकाले संविधान संशोधनसँगै विद्यमान असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गरेको सल्लाहकार रिमालले बताए ।
त्यस्तै उपमहासचिव जेफ्री फेल्टम्यान र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार र प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग पनि भेटवार्ता गरेका छन् ।

संविधान संशोधनले नाकाको अवरोध हट्छ ?

राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष दूत जेफ्रे फेल्टम्यानले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । द्वारिका होटलमा मोर्चाका अध्यक्षहरुलाई भेटेर राष्ट्रसंघका राजनीतिक मामिलाका प्रमुख समेत रहेका फेल्टम्यानले आन्दोलनबारे चासो राखेका छन् । उनले सीमा क्षेत्रको गरेको धर्नाका कारण इन्धन, औषधी र अन्य उपभोग्य वस्तुको अभावमा मानवीय संकट उत्पन्न भएको बताए ।

जवाफमा मधेसी मोर्चाका नेताहरुले सीमा क्षेत्रमा धर्ना आफूहरुको वाध्यता भएको बताएका छन् । सरकारले जिल्ला सदरमुकामहरुमा निषेधाज्ञा जारी गर्ने र कर्फु लगाउने काम गरेकोले विरोध प्रदर्शनका लागि आफूहरु वाध्य भएर सीमा क्षेत्रमा गएको बताएको मतलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

राष्ट्रसंघका विशेष प्रतिनिधि फेल्टम्यानले मोर्चाका नेताहरुसँग आन्दोलनका अबका कार्यक्रमबारे पनि चासो राखेका छन् । संसद्मा विधाराधिन रहेको संविधान संशोधन विधेयक र त्यसमा परेको संशोधनले सीमा क्षेत्रको विरोध फिर्ता हुन्छ कि हुँदैन भनेर प्रश्न गरे । जवाफमा मोर्चाका नेताहरुले विधेयकउपर धेरै संशोधन प्रस्ताव दर्ता भएकाले आफूहरु संविधान कुन रुपमा संशोधन हुन्छ भनेर पर्खिरहेको बताए ।

संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन उपमहासचिव फेल्टम्यान बिहिबार नेपाल आएका हुन् । उनले विभिन्न राजनीतिक भेटघाटका क्रममा नेपालको संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माण तथा विकासमा संयुक्त राष्ट्रसङ्घको निरन्तर सहयोग रहने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

For More videos Log on to Mazzako TV