काठमाण्डौं । नेपाली भाषामा गरिएका दुई दर्जनभन्दा बढी वार्ता निष्कर्ष विहिन बन्न पुगेर हो कि किन हो, प्रधानमन्त्री केपी ओली हिजोआज तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मैथिली भाषामा भलाकुसारी गर्छन । हिजो मध्याह्न पनि यस्तै संवाद दोहोरियो ।

‘हेलो ठाकुरजी, कि छै हालचाल ?’, प्रधानमन्त्रीले सोधे ।‘हालचाल ठिक अछि प्रधानमन्त्रीजी, मोर्चाके दिस स कार्यदल मे आई तीन लोक के नाम पठा देने छि ।’ मधेसी मोर्चाका तर्फबाट तीन दल–मोर्चा कार्यदल सदस्यका नाम पठाएको जानकारी दिदै ठाकुरले फर्काए । सद्भावना दलको नाम छुटाउँदै हिजो बिहान मोर्चा बैठक मार्फत् संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष ह्रद्येश त्रिपाठी र तमलोपा वरिष्ठ नेता रामनरेश राय यादवको नाम दिइएको उनले प्रधानमन्त्रीलाई बताए ।

KP oli Mahanta Thakur‘बरु राजेन्द्र जी के एक बेर फोन क क स्वास्थके बारेमें पुछियौ न,’ ठाकुरले नयाँ दिल्लीमा उपचाररत सद्भावना अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य सोधिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ओलीले ठाकुरलाई किन सद्भावनाको नाम आएन भनी जिज्ञासा राखेपछि ठाकुरले यस्तो जवाफ दिएका हुन् । ठाकुरले महतोको दिल्लीस्थित भारतीय टेलिफोन नम्बरसमेत प्रधानमन्त्रीलाई पठाइदिए । प्रधानमन्त्रीले फोन गर्ने वचन दिए । यसअघि पनि ओली–ठाकुरबीच आधा दर्जनभन्दा बढी चरणमा मैथिली संवाद भइसकेको छ, टेलिफोनमा ।

तर रातिसम्म प्रधानमन्त्रीका तर्फबाट महतोलाई कुनै फोन गएन । पुस ११ गते विराटनगर–जोगवनी नाकामा धर्ना बस्न गएका महतोमाथि सुरक्षाकर्मीले दमन गरेको भन्दै सद्भावनाले सरकारका तर्फबाट माफी मागिनुपर्ने, नत्र वार्ता, कार्यदल दुवैमा नजाने अडान राख्दै आएको छ ।

ओलीको मैथिली लवज त्यस्तो सुनिन्छ, जस्तो ठाकुर र मधेसीहरुको खस नेपालीमा सुनिन्छ । ओलीले नसुल्झिएका मुद्दा कार्यदलमार्फत् टुंग्याउन दुवै पक्ष तयार हुनुपर्ने बताएको उनले बताए । ठाकुरले वार्ताबाट समस्या सुल्झाउन सरकार र विपक्षी कंग्रेसमा पर्याप्त जिम्मेवारी र गम्भीरता देखिनुपर्ने जवाफ दिए । ‘मैथिली त मिठै बोल्नुहुन्छ प्रधानमन्त्रीजी, झापालाई मधेसमा राख्नचाहि बरु के को समस्या परेको हो उहाँलाई,’ ठाकुरले सुनाए । मधेस आन्दोलनकारीबीच अनुदारवादी छवि बनाएका ओलीले असन्तुष्ट पक्षसँग संवाद जोड्न भाषालाइ माध्यम बनाएको हुन सक्ने आंकलन गरिएको छ ।

आइतबार बालुवाटारमा बसेको तीन दल–मोर्चा वार्तामा प्रस्तावित कार्यदलबारे छलफल भएको थियो । कार्यदलका लागि कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा प्रस्तावित छन् । मंगलबार मोर्चाले पनि नाम तय गरेपछि आजदेखि कार्यदलले काम थाल्ने बताइएको छ ।

मोर्चाले दुवै पक्षको वार्ता टोली हुँदा हुँदै अर्को कार्यदल किन चाहियो भनी तीन दललाई सोधेको थियो । तीन दलका तर्फबाट नेताहरुले हालसम्म भएका वार्ता छलफलमा सीमित रहेको भन्दै कार्यदलले मोर्चाका ११ बुँदे मागका नसुल्झिएका बुँदामाथि लिखित समझदारी गर्न सक्ने बताए । लिखित सम्झौताका लागि बाटो खुल्न सक्ने बुझेपछि मोर्चाले आफ्नो तर्फबाट हिजो कार्यदलमा तीन नाम पठाएको हो ।

यता सदभावना अध्यक्ष महतोसँग तमलोपा अध्यक्ष ठाकुरले हिजो बिहान बिजुलीबजारस्थित आफ्नो दलको मूख्यालयबाट टेलिफोन गरी कार्यदलमा नाम पठाइदिन आग्रह गरेका थिए । मेदान्त अस्पताल दिल्लीमा स्वास्थ्यलाभ गर्दै रहेका महतोले तमलोपा, फोरम र तमसपाले आफ्ना प्रतिनिधि पठाएर सहमति गरे आफूलाई कुनै आपत्ति नहुने विश्वास दिलाउँदै फोन राखेका थिए ।

सदभावना महासचिव मनीषकुमार सुमनले आफ्नो दल आइतबारको तीन दल–मोर्चा वार्ता र मोर्चाको सोमबार र मंगलबार बैठकमा नगए पनि कार्यदलले आफ्नो काम गर्ने प्रष्टयाए । ‘हामी भौतिक रुपले कार्यदलमा नगएका हौं,’ सुमनले भने , ‘तर वैचारिक रुपले त्यही छौं, सँगै ।’
(कान्तिपुरबाट)

For More videos Log on to Mazzako TV