बाबियाचौर । म्याग्दीको बेनीमा मङ्गलबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ६०० जना भन्दा बढी लाभान्वित भएका छन् ।

तीन दिनसम्म सञ्चालित शिविरमा ५५४ को आँखा परीक्षण र ११८ जनाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले जानकारी दिए ।

बेनी र ग्रामीण क्षेत्रमा सञ्चालित आँखा शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउनुका साथै निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो ।

लायन्स क्लब बेनीको आयोजनामा हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला अस्पताल बेनी र आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शल्यक्रिया शिविरमा आँखा अस्पतालका चिकित्सक एलिया श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा दिएका थिए ।

बेनीका साथै उत्तरी पर्वतको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिविर आयोजना गरिएको थियो । सबै ठाउँको शिविरबाट एक हजार ८६३ जनाले सेवा लिएका थिए । आँखाका बिरामीलाई स्थानीयस्तरमा नै सर्वसुलभ रुपमा उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताए ।

बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल मलेसियामा व्यवसाय गर्दै आएका दीपक बोगटीले दिवङ्गत बुबा ओमबहादुर र भाइ लोकको स्मृतिमा आँखा शिविर सञ्चालनका लागि रु तीन लाख ७५ हजार सहयोग गरेका हुन् ।

For More videos Log on to Mazzako TV