काठमाडौं । नेपाल चीनबीच गर्ने भनिएको पारवाहन सन्धिलाई निष्कर्षमा पुर्याइने भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कमल थापा र चीनका उपराष्ट्रपति ली युआन्चाओबीच बिहिवार अपराह्न भएको शिष्टाचार भेटमा पनि यो सम्बन्धि कुरा भएको बुझिएको छ ।

चीनको ग्रेट हल अफ द पिपलमा भएको शिष्टाचार भेटमा उपराष्ट्रपति लीले दुई मुलुकबीच दौत्य सम्बन्धको छ दशक समयावधि पुगेको अवसरमा नेपालमा नयाँ संविधानपछि गठन भएको सरकारबाट उच्चस्तरको भ्रमण गरिएकामा न्यानो स्वागत गर्दै भूकम्पपछिको नेपालको पुनःनिर्माणका प्रयास र नेपालको विकासमा पूर्ण समर्थन र सहयोग रहने विश्वास दिलाएका थिए ।

Kamal Thapa and Chinse vice-Prezनेपाललाई हालै दिइएको एक हजार मेट्रिक टन पेट्रोलियम पदार्थको अनुदान सहयोगको स्मरण गर्दै उपराष्ट्रपति लीले सो विषयमा थप सहयोगको सम्भावनाका बारेमा पनि बताए ।

परराष्ट्रमन्त्री थापाले दुई मुलुकबीचको छ दशकदेखिको सुमधुर सम्बन्धप्रति खुसी प्रकट गर्दै व्यापार, लगानी, पर्यटन र ऊर्जाका साथै उत्पादक क्षेत्रमा अझ सहयोगको आवश्यकतामा जोड दिएका थिए ।

उपप्रधानमन्त्री थापाले दुई देशबीचको सीमा व्यापार केन्द्रको विकास तथा स्तरोन्नति र पारवाहन सन्धिलाई निष्कर्षमा पुर्याउनुपर्ने कुरा अत्यन्त महत्वपूर्ण हुने बताएको बेजिङस्थित नेपाली दूतावासद्वारा बिहिवार जारी विज्ञप्तिमा जनाइएको छ ।

उनले गत वैशाख १२को भूकम्पका बेला चीनले गरेको सहयोग र नेपालको विकासमा चीन सरकारका तर्फबाट भएका निरन्तर प्रयत्नका लागि धन्यवाद पनि ज्ञापन गरेका थिए ।

उक्त भेटमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, चीनका लागि नेपाली राजदूत डा महेश मास्के एवं परराष्ट्र, अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र वरिष्ठ अधिकारी तथा चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत, विदेश सहायकमन्त्री र अन्य वरिष्ठ अधिकृत सहभागी थिए ।

For More videos Log on to Mazzako TV