काठमाडौं । जारी व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो ।

तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
CA-buildingकार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर
यसैबीच सभामुख ओनसरी घर्तीको अध्यक्षतामा शुक्रवार बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ ।

झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्रीमा र गिरीराजमणि पोखरेल शिक्षामन्त्रीमा नियुक्त भएपछि कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गरेको हो ।

उपप्रधानमन्त्री मन्त्री केसी जनमोर्चा नेपालका र मन्त्री पोखरेल एनेकपा (एमाओवादी) कोटाबाट मन्त्री भएका थिए । उनीहरुमा मन्त्रीमा बहाली भएका कारण रिक्त हुन गएको स्थानमा कार्यव्यवस्था परामर्श समितिमा आजको बैठकले जनमोर्चाका सांसद दुर्गा पौडेल र एमाओवादीका सांसद हितराज पाण्डेको नाम सिफारीस गरेको छ ।

बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव गरेका थिए । सो समितिको प्रतिवेदन तयार पार्न संसद्ले १५ दिनको म्याद थप गरी सर्वसमितिले स्वीकृत गरेको छ ।

संसद्को अर्को बैठक आगामी बुधबार ८ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

For More videos Log on to Mazzako TV