काठमाडौ । नदीमा पानीको प्रवाह घटेका कारण विद्युत् उत्पादनमा कमी आएका कारण नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो । नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

प्राधिकरणका आयोजनामध्ये कुलेखानी पहिलो र दोस्रो आयोजनाको कुल क्षमता ९२ मेगावाट भए पनि त्यसबाट विद्युत् उत्पादन गरिएको छैन । निजी क्षेत्रले उत्पादन गरिरहेकामध्ये १०० मेगावाटभन्दा बढी विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद भएको छ ।

loadsheding table (3366)प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल ३०० मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतबाट हाल विभिन्न स्थानमा २३० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालभित्र उत्पादित र भारतबाट आयात गरिएको विद्युत् गरी कुल ५२० मेगावाटमात्रै प्रवाह भइरहेको छ । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार नदीमा पानीको सतह घटेको र माग अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत्भार कटौती थप गरिएको हो । नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा विद्युत्भार कटौती हुनेछ ।

यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा विद्युत् कटौती गर्दै आएको भए पनि ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा असीमित कटौती हुँदै आएको छ ।

For More videos Log on to Mazzako TV