काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । आज अपराह्न ३ बजेका लागि तय भएको बैठकमा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक मात्रै पेस गर्ने कि संविधान संशोधनसम्बन्धी विधेयक पनि सँगै पेस गर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा बैठक बस्न नसकेको हो ।

CA-buildingव्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले यही मङ्सिर २७ गते अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।

बैठक सञ्चालन गर्ने विषयमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दलका नेतासँग संसद् भवन नयाँ बानेश्वरमा नै छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आइतबार बस्ने बैठकमा संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनः निर्माण प्राधिकरण गठनसम्बन्धी दुवै प्रस्ताव पेस गर्ने गरी बैठक स्थगन भएको जानकारी दिए ।

नाकाबन्दीको विरोधमा सदनमा विशेष प्रस्ताव दर्ता
यसैबीच भारतले अघोषितरुपमा जारी राखेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसद्मा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव शक्रवार संसद् सचिवालयमा दर्ता गराएका हुन्।

भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै सांसदले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

उनीहरुले सचिवालयमा दर्ता गराउनुभएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराएको  आग्रह गरेका छन् ।

For More videos Log on to Mazzako TV