काठमाडौँ । नदीमा पानीको मात्रा घटेको र राष्ट्रिय प्रणालीमा अत्यधिक भार परेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको अवधि थप गरेको छ ।

प्राधिकरणकाअनुसार शुक्रबारबाट लागू हुने गरी दैनिक साढे आठ घण्टा विद्युत्भार कटौती हुने छ । भारप्रेषण केन्द्रले केन्द्रीय प्रसारण लाइनमा हाल ५५० मेगावाट मात्रै विद्युत् उपलब्ध भइरहेको जनाएको छ । केन्द्रीय प्रसारण लाइनमा हाल दैनिक एक हजार २८५ मेगावाट विद्युत्को माग रहेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत्भार बढाउनुपरेको हो ।

केन्द्रका प्रमुख भुवनकुमार खत्रीले मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत्भार कटौती गर्नुपरेको जानकारी दिए । भूकम्पबाट क्षति भएकोमध्ये कुल ११० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बिच्छेद भएको छ । ती विद्युत् गृहसमेत हालसम्म सञ्चालन हुन सकेका छैनन् । त्यस्तै मुलुकका अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएका कारण पनि विद्युत् उत्पादनमा कमी भएको छ ।

load Shading time tableखाना पकाउने ग्यासको विकल्पमा नागरिकले विद्युतीय सामग्रीको प्रयोग गरेर खाना पकाउने गरेकामा विद्युत्भार कटौतीको समय बढेपछि उपभोक्ता मारमा पर्ने छन् ।

नयाँ तालिकाअनुसार हप्ताको तीन दिन बिहान, दिउँसो र बेलुकी गरी तीन पटक साढे आठ घण्टा विद्युत् कटौती हुने भारप्रेषण केन्द्रले जनाएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म, मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म र राति ८ बजेदेखि साढे ९ बजेसम्म विद्युत् कटौती हुनेछ ।

त्यस्तै हप्ताको तीन दिन दिनमा दुई पटक गरी आठ घण्टा विद्युत् काटिनेछ । हप्तामा एक दिन भने सात घण्टामात्र बत्ती कटौती हुनेछ । साँझ बिहानको समयमा खाना पकाउन सहज होस् भन्ने मान्यतलाई केन्द्रबिन्दुमा राखेर विद्युत्भार कटौती तालिका तयार पारिएको प्रमुख खत्रीको भनाइ छ ।

ट्रान्सफर्मर जल्दा जताततै समस्या

यसैबीच कम क्षमताका ट्रान्सफर्मरका कारण राजधानीका अधिकांश स्थानमा समस्या पैदा भएको छ । नेपाल विद्युत् प्राधिकरणले ५० केभीए क्षमतादेखि २०० केभीएसम्मका ट्रान्सफर्मरमार्फत विद्युत् प्रवाह गरिरहेको छ । तर एक्कासि भार बढी हुँदा ट्रान्फर्मर जल्ने, फ्यूज जल्ने तथा प्रसारण लाइनमा नै समस्या देखिने गरेको छ ।

राइस कुकर, माटोको हिटर, इन्डक्सन चुलो, माइक्रो ओभन, विद्युतीय जगजस्ता विद्युतीय सामग्री अत्याधिक प्रयोग हुँदा प्रसारण लाइनमा समेत बढी भार पर्ने गरेको र ट्रान्सफर्मरमा समस्या पैदा हुने गरेको छ ।

खाना पकाउने ग्यासको अभाव हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक्कासि ३५ देखि ४० प्रतिशत भार थपिएको छ । सोको मात्रा सहरी क्षेत्रमा बढी रहेको छ । काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा एक्कासि भार बढ्दा रु १० करोड भन्दा बढीको ट्रान्सफर्मरमा समस्या आइसकेको छ ।

For More videos Log on to Mazzako TV