काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनको संस्था (इपान)ले ऊर्जा सङ्कटलाई समाधान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्न ऊर्जा सचिव सुमनकुमार शर्मालाई आग्रह गरेको छ ।

इपानले आज ज्ञापनपत्र बुझाउँदै नेपालको ऊर्जा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चाल्नु आवश्यक रहेको र सरकारसँग मिलेर काम गर्न आफूसमेत तयार रहेको जनाएको छ ।

भूकम्पका कारण प्रभावित भएका आयोजनालाई तत्काल सञ्चालनको वातावरण बनाउन र निर्माण प्रक्रिया सुरु गर्नका लागि सरकारका तर्फबाट प्रस्ट सहयोगको आवश्यकता रहेकामा जोड दिँदै इपानले आयोजनालाई ऋण तिर्ने अवधिसम्मका लागि विद्युत् खरिद सम्झौतामा केही सहुलियत दिन आग्रह गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले २०१७ पछि विद्युत्को मागमा कमी आउने प्रक्षेपण गरेका आधारमा चाहिएको बेलामा मात्र किन्ने सर्तमा विद्युत् खरिद सम्झौता गरेकाले ती आयोजनाको वित्तीय व्यवस्थापन हुन नसक्ने भएकाले सो व्यवस्थालाई सच्याउन माग गरिएको इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए ।

Pmo-Officeयस्तै विद्युत्को वैज्ञानिक रुपमा मूल्य समायोजन गर्न र बढी प्रयोग गर्दा बढी मूल्य तिर्नुपर्ने र कम प्रयोग गर्दा कम तिर्ने प्रावधान बनाउन तथा जलाशयुक्त आयोजनाको हकमा फरक दर कायम गर्न माग गरिएको छ ।

यसैबीच स्थानीय विकास सहायक मन्त्री विराज विष्टले लघु जलविद्युत् योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

नवघोषित बज्रवाराही नगरपालिकाको सोमवार काठमाडौंमा उद्घाटन गर्दै उनले ठूला योजनाहरु सम्पन्न हुन ढिलाइ हुने र समयमा काम सम्पन्न नहुने अवस्थालाई मध्यनजर गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भारतले गरेको अघोषित नाकाबन्दीको सङ्केत गर्दै घर निर्माणका लागि नक्सापास गर्दा अनिवार्य रुपमा सोलार प्यानल जडान गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताए ।

माथिल्लो त्रिशूली थ्रिएको निर्माण तत्काल थाल्न सुझाव

त्यस्तै भूकम्पपछि निर्माण ठप्प भएको नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली थ्रिए आयोजनाको निर्माण तत्काल थाल्न राजनीतिक दलले सल्लाह दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले चीन सरकारको ऋणमा निर्माण गरिरहेको ६० मेगावाट क्षमताको आयोजनाको निर्माणका लागि तत्कालै भत्किएको सडक मर्मत र निर्माणमा ध्यान दिनुपर्ने नुवाकोटका दलका प्रतिनिधिले सुझाव दिएका छन् ।

माथिल्लो त्रिशूली थ्रिए आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले भूकम्पको कारण भत्किएको सडक निर्माण नहुँदा नै आयोजना निर्माण अघि नबढेको बताउँदै आयोजनाको सडक खुलाउनका लागि सडक विभाग वा नेपाली सेना परिचालन गरी तत्काल सडक खुलाउन सकेमा ठेकेदारले पनि निर्माण अघि बढाउने देखिएको स्पष्ट गरे ।

प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष नारायणप्रसाद खतिवडाले आयोजनाको निर्माण तत्काल सुरु गर्नु पर्ने र प्रसारण लाइन विस्तारका लागि आयोजनाले अर्को विकल्प भएमा त्यसको खोजी गर्नुपर्ने बताए।

राप्रपाका अध्यक्ष झनक प्याकुरेलले भूकम्पको कारण भन्दै सधैँभरि आयोजनाको निर्माण रोकेर बस्न नहुने बताए ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष हिरानाथ खतिवडाले निर्माणका लागि आयोजना अझै सक्रिय हुनुपर्ने र प्रसारण लाइन विस्तारका लागि जनताको जग्गाको मुआब्जाका लागि प्रशासनिक कदम चाल्नाको विकल्प नहुने बताए ।

नेकपा माओवादी (क्रान्तिकारी)का लीलानाथ न्यौपानेले आयोजनालाई अब कुनै पनि बहानामा रोक्न नहुने बताए ।

चाइना गेजुवा कम्पनीले निर्माण गरिरहेको आयोजना डेढ वर्ष पहिले नै सकिनुपर्नेमा ६० बाट ९० मेगावाट बनाउने विवादले ढिलो भएको थियो । क्षमता बढाउने विवादको कारण दुई वर्ष म्याद थपिएकामा भूकम्पले अझै पछि धकेलेको छ ।

For More videos Log on to Mazzako TV