मज्जाको अनलाइन, मंसिर १३ गते, आइतवार,२०७२, काठमडौं। 

भारतीय नाकाबन्दीको विरोध र जनतालाई बैकल्पीक व्यवस्थामार्फत सहज आपूर्तिको माग गरेर नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बन्द सफल बनाउन राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा माओवादीका कार्यकर्ताले सडक अबरोध गरेका छन् । उनीहरूको अबरोधका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

तराईमा लामोसमय देखि जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण कष्टकर बनेको नेपालीको जनजीवन आजको बन्दले झनै अप्ठ्यारोमा पारिदिएको छ ।

यद्यपि नेकपा माओवादीले आफूहरूको बन्द भारतीय नाकाबन्दी र भारतीय दलालहरूविरुद्ध रहेको भनदै नेपाली जनताको अधिकारका लागि बन्द आह्वान गरिएको जनाएको छ ।
माओवादीले पहिले गरिए जस्तो कडा खालको बन्द नगरेको दाबी गरेको छ । बन्द भए पनि राजधानीमा छिटफुट सवारी साधन चलेका छन् ।

Strike of Biplav maoistबन्द सफल बनाउन नेकपा माओवादीले कलंकी, कालीमाटी, बल्खु, चाबहिल, कोटेश्वर, लगनखेल, सूर्यबिनायकलगायतका दर्जनौ स्थानमा आफ्ना कार्यकर्तालाई उतोको छ ।

ती स्थानमा विभिन्न नेताहरूलाई कमाण्डिङ्को जिम्मेवारी पनि दिएको छ ।
विप्लव माओवादीले भारतीय नम्वर प्लेटका सवारी साधनलाई भने निशाना बनाउने चेतावनी दिएको छ ।

यसैबीच बिहान कास्कीका विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने २७ जनालाई लेखनाथ र पोखराका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले बताएका छन् ।

उनका अनुसार लेखनाथ नगरपालिका क्षेत्रबाट सातजना र पोखरा उपमहानगर क्षेत्रबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दका कारण यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार क्षेत्रमा पसल फाट्टफुट्ट खुलेका छन् । बिहानको समयमा सञ्चालन हुने शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको छ ।

त्यस्तै गाडीमा ढुङ्गा हान्न खोज्दा आज बिहान नारायणगढबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार माइक्रोबसको साँचो खोस्ने र ढुङ्गा हान्ने प्रयास गर्दागर्दै ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा पार्टीको क्षेत्र नं ३ का सेक्रेटरी भीमबहादुर खड्का र विद्यार्थीहरु नयनसिंह खड्का र केशव भट्टराई रहेका छन् ।

माओवादीका जिल्ला सेक्रेटरी महेश थारुले भारतीय गाडी लक्षित गरिएको भए पनि नेपाली सवारी साधन भने तोडफोड नगरी रोक्ने काममात्रै भइरहेको बताए । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

For More videos Log on to Mazzako TV