मज्जाको अनलाइन,मंसिर ८ गते, मंगलवार, २०७२, काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम समेटेर श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्रालयमा मंगलवार पत्रकारसम्मेलनको आयोजना गरेर उनले मुलुकको समग्र आर्थिक अवस्थाको विश्लेषणसहितको श्वोतपत्र प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको श्वोतपत्रले देशको अर्थतन्त्रको डरलाग्दो स्वरुपलाई देखाएको छ । अर्थमन्त्री पौडलद्वारा जारी श्वोतपत्रमा भूकम्पका कारण देशको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित भएको र पछिल्लो तराई मधेसको आन्दोलन तथा अघोषित नाकाबन्दीका कारण अर्थतन्त्रमा अझै अर्थतन्त्रमा सङ्कुचन आई चालु आर्थिक वर्षमा दुई प्रतिशतमा आर्थिक वृद्धिदर सीमित हुने उल्लेख गरिएको छ ।

गत वैशाख १२ गते गएको गोरखा भूकम्प, आर्थिक परिसूचकमा त्यसले पारेको प्रभाव, तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले पारेको नाकारात्मक प्रभावका विषय श्वेतपत्रमा समावेश गरिएको छ ।

सरकारले चालु आवमा कुल ६ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि आपूर्ति प्रणालीमा भएको अवरोधबाट कृषि र गैरकृषि दुबै क्षेत्रको उत्पादन प्रभावित भई अर्थतन्त्र सङ्कटमा परेको श्वोतपत्रमा जनाईएको छ ।

श्वेतपत्रमा बन्द, हडताल, आपूर्ति प्रणालीमा अवरोध कायम रहँदै गएमा आर्थिक वृद्धिदर थप सङ्कुचित हुने, चालु आवको पछिल्लो चार महिनामा पुँजी निर्माणले गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर आर्थिक वृद्धिदरमा पर्ने भनिएको छ ।Finance minister poudel

अर्थमन्त्री पौडेलले श्वोतपत्र प्रस्तुत गर्दै कृषि तथा उद्योगबाट उत्पादित वस्तु, ढुवानी समस्याका कारण बजारसम्म पुर्याउन कठिन भइरहेको, होटल रेस्टुरेन्ट, पर्यटन, निर्माण, बैंकिङ, यातायातलगायत ग्रार्हस्थ्य उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान पुर्याउने सेवा क्षेत्र इन्धन र अन्य सामग्रीको अभावले नराम्ररी प्रभावित भएको उल्लेख गरे ।

भूकम्पको क्षतिका कारण करिब सात लाख नागरिक गरिबीको रेखामुनि धकेलिएको, थपिएको गरिबी मध्ये ६० प्रतिशत मध्य पहाडी र हिमाली क्षेत्रमा रहेको तथा भूकम्पले खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा तथा दैनिकी जीविकोपार्जनमा परेको प्रभावका कारण बढेको गरिबी हालको शिथिलताले झन् बढ्ने निश्चित भएको छ ।

सो कारण नेपाललाई सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति गर्ने र सन् २०३० सम्म मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने लक्ष्यमा चुनौती थपिएको अर्थमन्त्री पौडेलको कथन छ ।

पछिल्लो अवस्थाका कारण मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दै उनले चालु आवको पहिलो महिनामा ६।९ प्रतिशतको मुद्रा स्फिती दोस्रो र तेस्रो महिनामा क्रमशः ७.२ र ८.२ प्रतिशत पुगेको बताए ।

कृषि क्षेत्रको वृद्धिदर एक प्रतिशत मात्रै
श्वेतपत्रमा कृषि क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमा १.९ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा एक प्रतिशतको हाराहारीमा मात्र हुने अवस्था देखिएको उल्लेख छ ।

मौसमी प्रतिकूलताले बर्खेबालीमा पारेको प्रभावका कारण कृषि क्षेत्रमा २१ प्रतिशत भार रहेको धानको उत्पादन पाँच प्रतिशतले र सात प्रतिशत भार रहेको मकैको उत्पादन १० प्रतिशतले घट्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेमा गहुँको उत्पादन पनि ३० प्रतिशतले घट्ने सम्भावना रहेको श्वेतपत्रमा उल्लेख छ ।

स वर्ष हिउँदे बालीलाई लक्ष्यित गरी आयात गर्न लागिएको रासायनिक मल ट्रान्जिटमा रोकिएको र सो मल समयमै आयात भई वितरण हुन नसकेमा हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको उल्लेख छ । हालको इन्धन समस्याले कृषिका लागि अपरिहार्य सिँचाइ सुविधासमेत प्रभावित बनेको र विद्युत् उपलब्ध नभएका स्थानमा भूमिगत सिँचाइ र लिफ्ट सिँचाइ अवरुद्ध बनेको उल्लेख छ ।
उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक रहने

त्यस्तै यो बर्ष उद्योग क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्ष दुई दशमलव छ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा भने ऋणात्मक रहने अनुमान गरिएको छ ।

तराई–मधेस क्षेत्रका अधिकांश उद्योग बन्द रहेको र अन्य क्षेत्रमा रहेका उद्योग कच्चा पदार्थ, मेसिनरी, पाटपुर्जा र इन्धनको अभावमा बन्द वा क्षमता भन्दा धेरै कममा सञ्चालित रहेको उल्लेख छ ।

केही उद्योगले उत्पादन गरेका वस्तु पनि उद्योगको गोदाममा नै थन्किएको, औद्योगिक शिथिलताले रोजगारीमा प्रतिकूल प्रभाव पारेको श्वेतपत्रमा उल्लेख छ ।

बन्द, हडताल र अवरोधले साना ठूला गरी करिब दुई हजार २०० उद्योग बन्द भएको तथा ती उद्योगमा कार्यरत करिब दुई लाखभन्दा बढी औद्योगिक श्रमशक्ति बेरोजगार भएको, उद्योगीलाई बैंकको ब्याज र मजदुरको ज्याला भुक्तानी गर्न कठिन भइरहेको उल्लेख छ ।

सेवा क्षेत्रमा भने वृद्धिदर गत आर्थिक वर्षमा ६.१ प्रतिशत रहेकोमा चालु आवमा तीन प्रतिशतको हाराहारीमा रहने श्वेतपत्रमा उल्लेख छ । आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

सन् २०१४ को जनवरीदेखि अक्टुबरसम्ममा नेपाल भ्रमणमा हवाई मार्गबाट आउने कुल पर्यटक सङ्ख्या छ लाख ५२ हजार ६०० रहेकोमा यस वर्षको सोही अवधिमा ४६ प्रतिशतले कमी आई तीन लाख ३२५ पर्यटक मात्र नेपाल आएको उल्लेख छ ।

हवाई मार्गबाट आउने पर्यटकको नेपालमा बसाई अवधि गत वर्ष १२ दशमलव ४ दिन रहेकोमा सन् २०१५ को जनवरीदेखि अक्टुबरसम्मको अवधिमा ६ दिनमा सीमित रहेको छ । होटलमा पर्यटक कम हुँदा क्षमताको २० प्रतिशतभन्दा कम उपयोग भएकाले पर्यटन र होटल उप क्षेत्र शिथिल रहेको उल्लेख छ ।

अघिल्लो वर्षको असोज कात्तिकमा पर्यटकीय होटलका कोठा ९० देखि ९५ प्रतिशत भरिएकोमा चालु वर्षको सोही अवधिमा केवल १५ देखि २० प्रतिशत मात्र भरिएको छ ।

For More videos Log on to Mazzako TV