मज्जाको अनलाइन, मंसिर ६ गते, आइतवार, २०७२, काठमाडौं।

व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच नाकाबन्दीका कारण उत्पन्न मानवीय सङ्कटका सम्बन्धमा छलफल भएको छ ।

भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण देशमा औषधि, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको अभावबाट सर्वसाधारणको जनजीवन ज्यादै कष्टकर भएकाले समस्याको तत्काल निकास खोज्न आयोगका पदाधिकारीले समितिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

CA-buildingसो अवसरमा सर्वसाधारणको जीवनसँग जोडिएको अत्यावश्यक औषधिलगायत बिरामी बोकेको एम्बुलेन्समा आन्दोलनकारीले आगजनी तथा तोडफोड गर्नु मानव अधिकारको अन्तर्राष्ट्रिय मुल्य र मान्यता विपरीत भएकाले अरुको अधिकार हनन नहुने गरी शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम अघि सार्न आन्दोलनरत पक्षलाई आग्रहसमेत गरिएको थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान जारी गर्नुअघि र जारी भएपछि भएका आन्दोलनका क्रममा मानव अधिकार हननका विषयमा निरन्तर रुपमा अनुगमन तथा अनुसन्धान गरिरहेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए ।

नाकाबन्दीका कारण मानव जीवनसँग सम्बन्धित अत्यावश्यक वस्तु र सेवाको कृत्रिम अभाव एवम् मूल्यवृद्धि तथा कालोबजारी मौलाउँदै गएकोतर्फ सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै यसलाई तत्काल रोक्न आवश्यक पहल गर्नुपर्नेमा उनको जोड थियोे ।

नाकाबन्दीबाट उत्पन्न मानवीय सङ्कट सम्बन्धमा आयोगले अन्तर्राष्ट्रिय रुपमै पहल गरिरहेको भन्दै अध्यक्ष शर्माले यथाशीघ्र सार्थक वार्ता गरेर जारी आन्दोलनको अन्त्य गर्न पुनः सरकार र आन्दोलनरत पक्षलाई सम्वेदनशील हुन आग्रह गरे ।

यसैगरी, मोरङ, सुनसरी, पर्सा र सप्तरी जिल्लामा भएको पछिल्लो अमानवीय घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

For More videos Log on to Mazzako TV