मज्जाको अनलाइन, मंसिर ६ गते, आइतवार, २०७२,काठमाडौं ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले व्यवस्थापिका संसद बैठकमा रोष्टम घेरेर नाराबाजी गरेका छन् ।

संसदको आइतबार बैठक सुरु हुनासाथ विपक्षी दलका कार्यबाहक सभापति रामचन्द्र पौडेलेले विशेष समय लिएर आफ्नो धारणा राखे ।

CA-buildingउनले सरकार आफैंले कालाबजारी गरेको आरोप लगाए । साथै सीमा नकामा आन्दोलन गरिरहेकाहरुले पनि तस्करी गरिरहेको उनको आरोप छ । ‘सरकार आफैंले कालोबजारी गरेर समानान्तर अर्थतन्त्र चलाएको छ । १०० पर्नेलाई ४०० तिर्दा पाउने, सामान्य मुल्यमा नआउने अवस्था छ ’, पौडेलले भने ।

पौडेलले समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । संसदको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै पौडेलले भने,’यस्तो आपतको अवस्थामा सरकार निश्क्रिय भएर बसेको छ । गैरजिम्मेवार रुमा प्रस्तुत भएको छ ।’

लगतै मधेसी मोर्चामा आवद्ध तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बोल्न समय मागे । कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै उभिएर बसेकाले सभामुख वनसरी घर्तीले समय दिन नसकिने बताइन् ।

लगतै मधेसी मोर्चा अवद्ध दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। नाराबाजीमा मधेसी मोर्चालाई थरुहट तराई पार्टी लगायतका साना दलका सांसदले समेत साथ लिएका थिए ।

मधेसी मोर्चाको नाराबाजीपछि सभामुख घर्तीले संसद बैठक १० गतेसम्मका लागि स्थगित गरिन् ।

For More videos Log on to Mazzako TV