मज्जाको अनलाइन, मंसिर ५ गते, शनिवार, २०७२ बिराटनगर ।

आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने योजनाको विपक्षमा उभिएका छन् । उनीहरूले आन्दोलनको ‘बटमलाइन’ मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा मिलाउने नभएको उल्लेख गर्दै त्यसो गरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘आन्दोलनलाई निस्तेज पार्न सरकारमा सहभागी केही राजनीतिक दलका नेताहरूले मोरङ र सुनसरीलाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने ललीपप देखाउँदै छन्,’ संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘आन्दोलनको बटमलाइन यो होइन ।’

झापादेखि कञ्चनपुरसम्म तराईका २२ जिल्लालाई समग्र मधेस एक वा दुई प्रदेश बनाइनुपर्ने उनले बताए । उनले सुनसरी र मोरङलाई टुक्र्याएर अरू प्रदेशमा गाभिए मोर्चालाई मान्य नहुने बताए ।

Madeshi protest in jankpurसमग्र मधेसमा एक वा दुई प्रदेश हुनुपर्छ भन्ने मधेसी मोर्चा र आन्दोलनको माग भएको तमलोपा मोरङ अध्यक्ष महम्मद कादिरले बताए । उनले सरकार र राजनीतिक दलहरूले विगतका सम्झौताको कार्यान्वयन नगरी जिल्लालाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने प्रयत्न गरे सशक्त आन्दोलन हुने दाबी गरे ।

यी दुई जिल्ला नटुक्र्याई मोरङ, सुनसरी र झापाको बेग्लै प्रदेश कायम गरिए मान्य हुने उनले बताए ।

मोरङ र सुनसरीलाई टुक्र्याएर सीमांकन मिलाउने प्रयत्न गरिए आन्दोलनरत मधेसी मोर्चालाई मान्य नहुने सद्भावनाका केन्द्रीय सदस्य शंकर साहको भनाइ छ ।

‘मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभिए यी दुई जिल्लाको भविष्य नै संकटमा पर्छ,’ साहले भने, ‘अहिले स्रोत र साधनले आत्मनिर्भर यी दुई जिल्लालाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने हो भने विराटनगर, इटहरी र धरानले रंगेली र राजविराजको नियती भोग्न बाध्य हुन्छन् । त्यसैले हामी त्यसलाई मान्दैनौं ।’

‘विगतमा भएको सहमति र सम्झौतालाई कार्यान्वयन गरिनुपर्छ भन्ने आन्दोलनरत मधेसी मोर्चाको माग हो । तर सुनसरी र मोरङलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने माग होइन,’ सद्भावना महतोका मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीले भने, ‘दलका केही नेताहरूको सनकमा मोरङ र सुनसरी जिल्लालाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभिए आन्दोलनरत मोर्चाका स्थानीयस्तरका नेता कार्यकर्तालाई मान्य हुने छैन ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मोरङ र सुनसरी जिल्लाको सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने सीमांकनको नयाँ प्रस्ताव सार्वजनिक भएलगत्तै यी दुई जिल्लाका नागरिक समाज, पेसाकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी र उद्योगी व्यवसायी चार दिनदेखि आन्दोलनरत छन् ।

यी दुई जिल्लालाई टुक्र्याउन नदिन विराटनगर र सुनसरीको नागरिक समाजले दिनहुँ प्रदर्शन र खबरदारी सभा गर्दै आएका छन् ।

For More videos Log on to Mazzako TV