मज्जाको अनलाईन, मंसिर ३ गते, बिहिवार, २०७२, काठमाडौं । 

मन्त्रिपरिषद बैठकले पुनस्निर्माण विधेयक पारित नहुन्जेल राष्ट्रिय योजना आयोगमार्फत पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । बैठकलगत्तै सञ्चारमन्त्री शेरधन राईले आयोगलाई तदारुकता साथ काम गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

यसअघिको सरकारले संसदमा प्रस्तुत गरेको पुनर्निर्माण विधेयक पारित हुन सकेको छैन् । विधेयक पारित नहुँदै गठन गरिएको पुनर्निर्माण प्राधिकरण खारेज भइसकेको छ ।

तातोपानी नाका तत्कालै खुलाइने
आजको मन्त्रिपरिषद् बैठकले चीनसँगको तातोपानी–केरुङ नाका तत्कालै खुलाउने निर्णय गरेको छ । मधेस आन्दोलनलाई कारण देखाउँदै भारतीय पक्षले आयात हुने इन्धनलगायत अत्यावश्यक सामग्री नाकामा अवरोध गरेपछि सरकारले चीनसँग इन्धन खरिद प्रक्रिया अघि बढाएको छ ।

बैठकले तत्कालै तातोपानी नाका खुलाउने र तातोपानी नाका स्तरोन्नती गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री राईले जानकारी दिए ।खराब सडकका कारण चीनबाट इन्धन ढूवानी गर्न समस्या भएको छ ।

भारतको नाकाबन्दीका कारण देखापरेको अत्यावश्यक वस्तुहरुको अभावको पूर्ति गर्न आपूर्तिका सबै विकल्प खुला राख्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिए ।

कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति
त्यसै गरि बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति बनाउने निर्णय गरेको छ । नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको कालाबजारी फस्टाउदै गएको गुनासो आएपछि बैठकले यस्तो निर्णय गरेको हो ।

For More videos Log on to Mazzako TV