मज्जाको अनलाइन, मंसिर २ गते, बुधवार, २०७२, काठमाडौं ।

समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाएकी अमेरिकी नागरिक म्यागी डोयनले जितेकी छिन् ।

मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उनलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आई आएकी छिन् ।

विशेष गरी उनले मध्यपश्चिमका टुहुरा असहाय सडक बालबालिकालाई आवाससहितको शिक्षा दिन सहयोग गर्दै आएकी छिन् ।

मध्यपश्चिमका एक युवतीसँगको भेटपछि उनको जीवनले महत्वपूर्ण मोड लियो ।

‘त्यहाँ सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका गिट्टी कुटिरहेको देखेपछि ममा बालबालिकाको क्षेत्रमा केही काम गर्ने सोच पैदा भयो’ – उनले भनिन् ।

Danialसन् २००६ देखि सुर्खेतमा कोपिला भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याई डोयनले ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।

यस्तै उनीद्वारा सन् २०१० मा स्थापित ब्लिनो फाउन्डेसनले सञ्चालनमा ल्याएको कोपिला भ्याली विद्यालयमा अहिले ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

‘म जब अठार वर्षको उमेरमा टेक्दै थिएँ, त्यतिबेलासम्म ५० बच्चाकी आमा भइसकेकी थिएँ । म आफ्ना बच्चालाई असाध्यै माया गर्छु’, अवार्ड पाइसकेपछि उनले भनिन्, ‘अनि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु मलाई माया गरी आफ्नी छोरीको रुपमा स्वीकार गरेकामा ।’

उनले अवार्डसँगै एक लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् । विश्वका दश उत्कृष्ट समाजसेवीमध्ये अनलाइन भोटिङ्मार्फत उनी यस वर्षको सिएनएन हिरो छानिएकी हुन्।

उत्कृष्ट दशमा पर्न सफल सबैले उक्त समारोहमा कसरी आफूहरु समाजसेवामा लाग्न उत्प्रेरित भए भन्ने अनुभव सुनाएका थिए । उत्कृष्ट दशमा परेसँगै उनीहरुले दश हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरो अवार्ड जितिसकेका छन् ।

For More videos Log on to Mazzako TV