मज्जाको अनलाईन, मंसिर १ गते, मंगलवार, २०७२, काठमाडौं ।

तराई मधेसमा आन्दोलनरत मधेसवादी दलसँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग अनौपचारिक छलफलपछि आएका विचार र भावनालाई समेटेर भोलि निर्णायक वार्ता गर्ने तयारी गरिएको हो ।

सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी Prachanda.jpg1प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक प्रचण्डले मंगलवार पनि अनौपचारिक परामर्श गरेका छन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरुमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताए।

प्रचण्डले आज पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गरेको बताइएको छ ।

‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भने ,‘समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ ।’

सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा प्रचण्डलाई दिएपछि उनले सक्रियता बढाएका हुन् ।

For More videos Log on to Mazzako TV