मज्जाको अनलाईन, कार्तिक १६ गते, सोमवार, २०७२, काठमाडौं ।

गृह मन्त्रालयले सोमवार पर्साको विरगञ्जमा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको मृत्यु भएको हो ।

मन्त्रालयले आज बिहान ५ः३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।

दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगन्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पुर्याई स्थिति तनाबग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

Home_ministry_nepalघटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय छन् ।

मृत्यु भएका नागरिक भारतीय
यसैबीच प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ ।

नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेट नजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सोमवार दिउँसो भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा सीमावर्ती भारतीय सहर रक्सौल– ११ मेनरोडका २० वर्षीय आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

मृतक आशिषकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका हुन् । आशिष सामान किन्नका लागि वीरगन्ज गएको उनका परिवार स्रोतले जनाएको छ ।

मृतकको साथबाट दुईवटा भारतीय नम्बरको मोबाइल सेट बरामद गरी सोही फोनबाट आफन्तलाई फोन गरेपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

For More videos Log on to Mazzako TV