मज्जाको अनलाईन,कार्तिक १६ गते, सोमवार,२०७२,वीरगञ्ज ।

नयाँ संविधानमा आफ्ना कुरा नपरेको भन्दै करिब दुई महिनादेखि वीरगञ्जको नाकालाई अवरुद्ध पारेर धर्नामा बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ ।

सोमबार बिहानै प्रहरीले नाकामा रहेका प्रदर्शनकारीलाई हटाएर बाटो खुलाएको हो । नाकाबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरू भारत प्रवेश गरेका हुन्। अहिलेसम्म १५० भन्दा बढी भारतीय गाडी नाका कटेको पर्सा प्रहरीका एसपी राजुबाबु श्रेष्ठले बताए।

रातिको समयमा थोरै संख्यामा रहेका मोर्चा कार्यकर्ता सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै हस्तक्षेप गरेको थियो।
पर्सा प्रहरीका एसपी श्रेष्ठका अनुसार सोमबार बिहान पाँच बजेर १० मिनेटमा सुरक्षाकर्मीले मितेरी पुलमा धर्नामा बसेका पाँच कार्यकर्तालाई पक्राउ गरेको थियो भने पाँचजना भागेका थिए।

Birjun Borderउनले १५० गाडी रक्सौल छिरेको र अन्य गाडी तथा ट्रक भारत छिर्न लामबद्ध भएको बताए । नेपालबाट गाडीहरु भारत प्रवेश गरे पनि भारतबाट भने कुनै पनि गाडी नेपाल प्रवेश गरेका छैनन् ।

प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधस्वरुप आन्दोलनकारीले वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेका छन्। नाकामा प्रदर्शनकारी धर्ना बसेको टेन्ट सुरक्षाकर्मीले लगेको छ।

वीरगञ्ज नाकामा भएको धर्ना र अवरोधका कारण भारतीय ट्रक चालकहरुले स्वदेश फर्कन सकेका थिएनन् । अवरोध हटाइएपछि उनीहरुले आफ्नो देशमा फर्कने वातावरण बनेको छ ।

भारततर्फ फर्कन नपाएपछि भारतीय चालकहरुले वीरगञ्जस्थित भारतीय वाणिज्य दूताबासको कार्यालयमा धर्ना दिँदै आएका थिए ।

मधेसवादीहरुले वीरगञ्ज नाकालाई आन्दोलनको केन्द्र ठान्दै आएका थिए । भारतले पनि अन्य नाकाहरुलाई सहज बनाइ पनि वीरगञ्ज नाका ‘क्रिटिकल’ रहेको भन्दै बार्गेनिङ गरिरहेको थियो ।

For More videos Log on to Mazzako TV