• रमेश लम्साल

काठमाडौं । एउटा सुपरिचित नाम हो, नन्दबहादुर पुन उर्फ ‘पासाङ’ । नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन् उनको नाम विभिन्न कोणबाट ।

पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रुपमा परिचित थिए । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि चर्चामा आउने नाम नै पुनको थियो ।

अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उनको शनिवार विजयी भए । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उनको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो ।

जन्म र परिवार

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मीएका पाँच भाइमध्ये माइलो हुन । उनका तीन दिदीबहिनी छन् । श्रीमती र दुई छोराका बाबु हुन पुन ।

पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरे । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना भए । तर त्यहाँ उनलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गर्यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुगे । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरे ।

विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गरे । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातक गरे ।

विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उनी अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष भए । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवं हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गर्यो उनलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उनलाई आकर्षित गर्यो ।

gjlgjf{rLt pk/fi6«klt gGbaxfb'/ k'g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उनमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उनलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झिन्छन् ।

शिक्षकको रुपमा पुन

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाले । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गरे, उनी जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उनले पढाएका थिए । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राखे । विभिन्न खेलमा रुचि भए पनि भलिबल उनको प्राथमिकतामा पर्छ ।

सङ्घर्षमा पुन

बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरे जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उनको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उनको बुबाले सिकाएका हुन् । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल)लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए ।

सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो । मूल्य थियो रु ३५ हजार । जहाँ भेट्यो त्यहीँ मार्न भनेर प्रशासनले प्रहरी परिचालन गर्यो । विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो । विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) प्रहरीले पक्राउ गर्न खोज्यो । लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उनको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल भए ।

राजनीतिमा पुन

विसं २०४६ मा पार्टी सदस्य भएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गरे । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहेको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर भए । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बने । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उनले पूरा गरे ।

पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य भए । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजकलगायतका राजनीतिक जिम्मेवारीमा छन् ।

माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उनकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी ९दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उनकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर थिए ।

शान्ति प्रक्रियाका नायक

शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम गर्यो। दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उनले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राखे । सातवटै लडाकु शिविरका कमाण्डरले उनलाई साथ दिए । त्यसमा उनमा भएको सैन्य नेतृत्व कलाले काम गर्यो।

राष्ट्रभक्त नेता पुन

पुन राष्ट्रियताप्रति बढी संवेदनशील छन् । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उनको बानी छ । तीन वर्ष पहिले दुवै मिर्गौला काम नगर्ने अवस्थामा पुग्दासमेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उनले अस्वीकार गरेका थिए । उनी नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने अस्पतालको आइसियु कक्षबाटै घोषणा गरे, जतिबेला डाक्टरले अवस्था असाध्यै गम्भीर भएको र दुवै मिर्गौला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए ।

मिर्गौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उनमा भएको आँटले काम गरेको बताउँछन् डाक्टरहरु । नेपालका अस्पताल र नेपालका डाक्टरहरुप्रति आफ्नो पूर्ण विश्वास भएको उनले बताएका थिए। त्यसपछि उनलाई राष्ट्रभक्तको रुपमा लिइने गरिन्छ ।

पुन लडाकु कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुन। सशस्त्र सङ्घर्षका चरणमा उनले ट्वेल्भ बोर, थ्री–नट–थ्री राइफल, एसएमजीजस्ता हतियार स्वयम्ले बनाए । पुनको साहित्यमा पनि विशेष रुचि छ । उनले थुपै्र फुटकर गीत तथा कविता लेखेका छन् । केही गीतहरु सङ्गीतबद्ध हुन बाँकी छन् । सशस्त्र सङ्घर्षको चरणमा उनले लेखेका ‘जनताहरु जाग्दैछन् जाग्दैछन्’ गीत चर्चित थियो । सङ्घर्ष अगाडि बढ्दै जाँदा उनले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौँ हामी।।’ गीत निकै चर्चित रहे । शान्ति प्रक्रियापछि उनले लेखेको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । पुन आफैँमा परिवर्तनको एजेन्डा बोक्ने, त्यसका लागि भएको सशस्त्र सङ्घर्ष र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै ऊर्जाशील समय देश र जनताका पक्षमा लगाएका छन् ।

आफ्नै मृत्युको खबर

सशस्त्र सङ्घर्षको दौरानमा पुनले थुपै्रपटक आफ्नो मृत्युको खबर सुनेका छन् । केही मुत्युको खबरको आफैँले खण्डन गरेका छन् । १९ वैशाख २०५९ मा रोल्पाको लिस्नेमा भएको भीडन्तमा ‘लिस्ने जङ्गलमा लुकेर बसेका माओवादीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा ७०० माओवादीहरू मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादीहरुले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुनसक्ने आशङ्का गरिएको छ’ भन्ने समाचार आएको थियो ।

कुनै सुविधाको पद लिएनन्

माओवादी शान्ति प्रक्रियामा आएको झन्डै १० वर्ष पुग्न लाग्दा पनि पुनले कुनै पनि सुविधाको पद लिएका थिएन । उनका धेरै सहपाठीहरु कोही मन्त्री, कोही संसद् सदस्य र कोहीले राजनीतिक नियुक्ति खाइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरे पनि सांसद गगन थापाबाट पराजित भए । गत १२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि उनी आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा सक्रिय भए । कपनस्थित उनको डेरारहेको घर चर्किएपछि उनी त्यसयता टहरोमा बस्दै आएका छन् ।

For More videos Log on to Mazzako TV