मज्जाको अनलाइन, कार्तिक ११ गते, बुधवार, २०७२, काठमाडौं । 
नेपालको राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उनी नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी छिन्।
संसदमा भर्खरै घोषणा गरिएको मत परिणाम अनुसार उनले ३ सय २७ मत प्राप्त गरेकी छिन्। उनका प्रत्यासी नेपाली कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुंगले २ सय १४ मत प्राप्त गरेका छन्।
मत परिणाम घोषणा गर्दै सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिइन्। गणतन्त्र घोषणा भएपछि दोस्रो राष्ट्रपतिमा निर्वाचित भण्डारी नेपालको सर्वोच्च निकायमा पुग्ने पहिलो महिला हुन्।
भण्डारी एमालेसहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्।उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलगायत छन्।
एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्‍चित थियो
राष्‍ट्रपतिमा विजयी हुन हाल कायम ५९७ मध्ये २९९ मत मात्रै  प्राप्त गरे पनि पुग्छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ३३८ ल्याएका थिए। उनका प्रतिस्पर्धी सुशील कोइरालाले २४९ मत प्राप्त गरेका थिए। त्यतिबेला कांग्रेसलाई मत दिने मधेसी मोर्चाले भने यसपटक चुनावमा भाग नलिएकोले कांग्रेसको मत घटेको छ। कांग्रेससँग २०७ सांसद् छन्।Bidhya-Bhandari
 भण्डारीएमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन्। रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण जिम्मेवारी समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण पार्टीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाएको हो।
राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट पूर्वप्रधानमनत्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम पनि चर्चामा थियो । तर पहिलो महिला राष्ट्रपति बनाएर इतिहास रच्ने अवसर गुमाउन नहुने भन्दै पूर्वप्रधानमनत्री झलनाथ खनाल, शीर्ष नेताहरुले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमत भएका थिए।
यस्तो छ भण्डारीको जीवन गाथा
२०१८ साल असार ५ भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी भण्डारीले स्तानकसम्मको अध्ययन गरेकी छिन्।तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा उनको बिबाह भएको थियो।
बिद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहेकी भण्डारी २०३५ सालदेखि तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लीगमा संगठित राजनीतिक यात्रा सुरु गरेकी थिइन्।२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि भएकी विद्याले २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त गरेकी थिइन्।
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनी केन्द्रीय नेतृत्वमा क्रियाशिल भएकी थिइन्। २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएकी विद्या त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा चुनिएकी थिइन्।
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित विद्या २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उनी अत्‍यधिक मतले उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०५१ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समालेकी विद्या २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०६७ बाट २०६९ सम्म रक्षामन्त्री भएकी थिइन्।
For More videos Log on to Mazzako TV