काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

भोली हुन लागेको राष्ट्रपति निर्वाचनका लागि सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारी, नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवार भण्डारीको व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल छन् ।

Bidhya and Kulbahadurnaryanman-maharjanत्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा९माले०का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट गुरुङले व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङको प्रस्तावमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट महर्जनले व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ः१५ मा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन् ।

राष्ट्रिय हितका लागि उम्मेदवारी : भण्डारी

एमाले उपाध्यक्ष विद्या भण्डारीले  उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बृहत्तर राजनीतिक सहमति, राष्ट्रिय हित र एकताका लागि उम्मेदवारी दिएको बताइन् । राष्ट्रपतिमा आफू निर्वाचित भए संविधानको पालना गर्दै त्यसको संरक्षण गर्ने उनले प्रतिबद्धता जनाइन् ।

लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले उम्मेदवारी : गुरुङ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस पुरानो एवं लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताए ।आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उनको भनाइ छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहेका गुरुङ कांग्रेसका पुराना नेता हुन् ।

संविधान लेखनमा भूमिका खेलेकाले उम्मेदवारी : मर्हजन

त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दर्ता गराएपछि संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए । संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उनले गरे ।

For More videos Log on to Mazzako TV