मज्जाको अनलाइन, कार्ति ८ गते, आइतवार, २०७२, काठमाडौं । 

आगामी कार्तिक ११ गते हुन लागेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्दनबाटै बनाउने वा प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने भन्ने वारेमा प्रमुख सत्तारुढ दल एमाले र एमोओवादी पर्ख हेरको नीतिमा छन ।  उनीहरु कांग्रेस राष्ट्रिय सहमतिको सरकारमा सामेल भएमा मात्र कांग्रेसलाई राष्ट्रपति दिने नत्र आफैले लिने तयारी गरेका छन् ।

एमालेले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने बताएको छ । शनिवार अबेर सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

यद्यपि एमालेले उम्मेदवारको नाम तय गरेको छैन । सो विषयमा छलफल गर्न आइतवार बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्नेछ ।

एमालेको बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली कांग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।

Sital-niwas1राष्ट्रपति निर्वाचनलगायत आगामी दिनमा आउने विभिन्न घटनाक्रममा सहमतिका साथ अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ । कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय शनिबार गरेको थियो ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको संवद्र्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।

एमाओवादीको शनिवार बसेको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने जानकारी दिए ।

‘राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेदवारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्छ,’श्रेष्ठले भने ।

पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चलेपनि टुङ्गो भने लागिसकेको छैन ।

पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेदवार उठाउने पनि बताइएको छ ।

For More videos Log on to Mazzako TV