मज्जाको अनलाइन, कार्तिक ६ गते, शुक्रवार, काठमाडौं । 

नयाँ संविधान जारी भए पछिको पहिलो राष्ट्रपति तथा उपराष्ट्रपति चयन पक्रिया संसदको भोलीको बैठकबाट शुरु हुने भएको छ ।

शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नेछन्। समितिले संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न सम्भवतः कात्तिक ८ सम्मको समय उपलब्ध गराउने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ।

Sital-niwas1संसदमा भएका दलहरूबीच पछिल्लो समय देखिएको मतभेदका कारण राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन हुने सम्भावना भने असम्भवप्रायः देखिएको छ। निर्धारित समयमा सहमति हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ।

निर्वाचन कार्यक्रमअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता र त्यसको भोलिपल्ट उम्मेदवारको प्रचारप्रसारका लागि समय दिने तयारी भइरहेको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए।

संसद सदस्यहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने भएकाले उम्मेदवारलाई छोटो समय भए पनि प्रचारप्रसारका लागि उपलब्ध गराइनेछ। सम्भवतः कात्तिक ११ वा १२ भित्र निर्वाचन गरिसक्ने तयारी सचिवालयको छ।

दुईभन्दा बढी उम्मेदवार भई कसैले पनि हाल कायम सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ मत प्राप्त गर्न नसके पहिलो र दोस्रो उम्मेदवारबीच पुनः मतदान गराइनेछ । त्यसपछि बहुमत प्राप्त गर्ने व्यक्ति मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति हुनेछन्।

For More videos Log on to Mazzako TV