मज्जाको अनलाईन, कार्तिक ५ गते, बिहिवार, २०७२, काठमाडौं । 

नेपालीहरुको महान चाड विजय दशमीको अवसरमा राष्ट्रपतिद्, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवं सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् ।

राष्ट्रपति डा यादवले दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहेका भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाएका छन् ।

‘‘त्यस्तै उनले जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको बताएका छन् । ‘संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’’ उनले सन्देशमा भनेका छन , ‘‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’’

संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।

‘‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’’ सन्देशमा भनिएको छ, ‘‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’’

उनले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताएका छन्।

Dashain Fulpatiत्यस्तै उपराष्ट्रपति परमानन्द झाले नेपालीहरुको महान पर्व वडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले यस पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताएका छन् ।

उनले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताएका छन् ।

विजयादशमीको अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो र अथक सङ्घर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट गएको असोज ३ गते नेपालको संविधान जारी भएको उल्लेख गरेका छन् ।

मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरुको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको बताएका छन् ।

संविधान जारी हुनुअघिदेखि नै देशका केही भागमा असन्तुष्टिहरु देखिएको उल्लेख गर्दै उनले संविधान जारी भएसँगै ती असन्तुष्टिहरु सकिएको उल्लेख गरेका छन् ।

मधेस केन्द्रित दलहरुका जायज मागलाई सम्बोधन गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै उनले सरकारले वार्ताका लागि गठन गरेको समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको पनि जानकारी दिएका छन् ।

For More videos Log on to Mazzako TV