मज्जाको अनलाइन, कार्तिक १ गते, आइतवार, २०७२, काठमाडौं । 

महानगरीय प्रहरी परिसर, काठमाडौँले राजधानीमा सङ्गठित अपराध र अपराधिलाई समुल नष्ट गर्न अपराधलाई कोपिलामै निमोठ्ने नीति (ब्रोकन विन्डो थ्योरी) अपनाउने भएको छ ।

प्रहरी परिसर, टेकुमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जनताको मनमस्तिष्क जित्न प्रहरीमा देखिएको उदासिनता, अश्लिल शब्दको प्रयोग गर्ने, शारीरिक यातना दिने, भ्रष्टाचार र अपहेलना गर्नेजस्ता रोग निवारण गरी ‘मुस्कानसहितको प्रहरी सेवा’लाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

पत्रकार सम्मेलनमा भर्खरै काठमाडौँको प्रहरी प्रमुख भएका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले आफ्नोNepalPolice कार्यकालमा कुनै पनि अराजक समूहसँग कुनै किसिमको सम्झौता नगर्ने भन्दै हतियारको दम्भ देखाएर आम नागरिकलाई अशान्ति दिनेलाई ‘सुटआउट’सम्म गर्न सकिने जानकारी दिए  । उनले भने, “जनताको सुरक्षाका लागि जागिर र जीवन नै गुमाउनुपरे पनि आपत्ति छैन ।”

साथै, संविधान जारी भएपछि असन्तुष्ट पक्षद्वारा गरिने क्रियाकलापको सामना गर्नका निम्ति वैज्ञानिक ढङ्गले सुरक्षा रणनीति बनाइ सहज व्यवस्थापन गर्ने पनि सो अवसरमा बताइयो ।

आउन लागेको दसैँ, तिहार, छठ आदि चाडपर्वलाई मध्यनजर राख्दै ल्याइएको विशेष सुरक्षा योजनाबारे पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअनुसार मठ मन्दिरको सुरक्षा, खसी बजारको सुरक्षा, बजार सुरक्षा, भुइँचम्पा, पटका, आतसबाजी नियन्त्रण, खाद्यान्नमा अखाद्य वस्तुको मिसावट तथा कालोबजारी नियन्त्रण, सार्वजनिक यातायातको सुरक्षा, अवैध जुवातास, क्यासिनोमा नेपाली प्रवेशलाई रोक लगाउनेलगायतका क्षेत्रमा प्रहरीले विशेष ध्यान पुर्याउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

For More videos Log on to Mazzako TV